नेकपा (एकीकृत समाजवादी) को ललितपुर जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा केन्द्रित रहेर उक्त भेलाको आयोजना गरिएको हो ।
ललितपुर क्षेत्र नं. २ मा बाम – लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जन साझा उम्मेदवार रहेका छन् ।
कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष प्रमेश हमालले कृष्णलाल महर्जन ललितपुरका सर्वस्वीकार्य उम्मेदवार रहेको बताए । हमालले उम्मेद्वारहरुलाई आफूहरुले पनि जित्ने र पार्टीलाई पनि जिताउने तवरमा गठबंधनको मर्म बुझेर अगाडि बढ्न अनुरोध गरे ।
ललितपुर क्षेत्र नं. २ ले कृष्णलाल महर्जन जस्तो इमान्दार उम्मेदवार पाएको भन्दै महर्जन जत्तिको इमान्दार उम्मेदवार कुनै निर्वाचन क्षेत्रमा नभएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य अमृतनाथ तिमल्सिनाले ठोकुवा गरे । प्रतिगामी शक्तिहरूले अनेक प्रलोभन वा अस्त्र प्रयोग गरेर विचलित बनाउन सक्ने बताउँदै तिमल्सिनाले त्यस्ता तत्वसँग सजग रहनु पर्ने बताए ।
राजावादीसँग सहकार्य गर्ने प्रतिगामीले चुनाव जिते संविधान बाँकी नरहने पोलिटब्युरो सदस्य प्रेमल खनालले बताए । बाम – लोकतान्त्रिक गठबंधनका सम्पूर्ण उम्मेद्वारहरूलाई विजयी गराउन पनि उनले आह्वान गरे ।
ललितपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका गठबन्धनका उम्मेदवार कृष्णलाल महर्जनले आफ्नो मतदाताहरुलाई कुनै पनि हालतमा निराश बनाउने कार्य नगर्ने वाचा व्यक्त गरे । यस पटकको निर्वाचन, निर्वाचन मात्र नभएर आन्दोलनको मोर्चा पनि भएको महर्जनले बताए ।
भेलामा पार्टीका केन्द्रीय उपाध्यक्ष प्रमेश हमाल प्रमुख अतिथि रहेका थिए भने पोलिटब्युरो सदस्य प्रेमल खनाल, निर्वाचन विभाग सदस्य माधव पौडेल, ललितपुर जिल्लाका अध्यक्ष हरिकृष्ण थापा, ललितपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका उम्मेदवार कृष्णलाल महर्जन, केन्द्रीय सदस्य राधा सिलवाललागायतको उपस्थिति रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३