विशेष अदालत काठमाडौंबाट फैसला भएका मुद्दाहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग असन्तुष्ट बनेको छ । अदालतबाट फैसला भएका चार वटा मुद्दाको चित्त नबुझेको भन्दै आयोगले सर्वोच्च अदालतको ढोका ढकढक्याएको हो ।
आयोगले सोमबार विभिन्न मितिमा फैसला भएका चार वटा घुस तथा रिसवत सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गराएको हो । घुससहित पक्राउ परेका खेमराज चौधरी विरुद्ध आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा आयोगले दिएको प्रमाणलाई प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ले भन्दै गत असार ९ गते सफाईसहितको फैसला सुनाएको थियो । चौधरी आफैले घुस लिएको स्वीकार गर्दा पनि अदालतले सफाई दिएको भन्दै उनको मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको आयोगले जनाएको छ ।
त्यस्तै, आयोगले सोमबार नै घुस सम्बन्धी नै अरु तीन वटा मुद्दा सर्वोच्चमा पुनरावेदन गराएको छ । ९६ हजार रुपैयाँ घुस सहित पक्राउ परेका हुकुम बहादुर ओली, शंकर महतो, हरिचन्दर ठाकुर र अरुण कुमार यादव विरुद्धको मुद्दा पनि सर्वोच्च अदालतमा पुनरावेदन गराइएको आयोगले जनाएको छ ।
यी मुद्दाहरुमा विशेष अदालतले पर्याप्त प्रमाण हुँदाहुँदै आरोपीलाई सफाई दिएको भन्दै आयोगले असन्तुष्ट जनाएको छ । घुससहित रंगेहात पक्राउ परेका यी चार जनाको नमुना परिक्षणमा मुचुल्कामा खानतलासी बरामदी मुचुल्का एवम् रकम बरामद भएको भनि गरेको सनाखत समेतबाट पर्याप्त प्रमाण हटाइएको समेत आयोगको आरोप छ ।
त्यस्तै, उजुरीकर्ता र मौकामा कागज गर्ने व्यक्तिहरुले अदालतमा आरोप मागदावीको व्यहोरालाई समर्थन हुनेगरी बकपत्र गरेको, बार्गेनिङको अडियो रेकर्डलाई समेत बेवास्ता गर्दै आरोपीलाई विशेष अदालतले सफाई दिएको आयोगको आरोप छ । यी चार मुद्दाहरु विशेष अदालतले गत बैशाख र जेठ महिनामा फैसला सुनाएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३