एमाले नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रण्डलाई प्रधानमन्त्री बनाउन भित्रभित्रै सक्रिय भएका छन् ।
काँग्रेससँगको गठबन्धनबाट माओवादी केन्द्रलाई अलग गराएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन केही दिनयता एमाले नेताहरुको दौडधुप बढेको छ । एमाले नेताहरुले लामो संवादहीनता तोड्दै माओवादी नेताहरुसँगको संवाद बाक्लो पारेका हुन् ।
४ मंसिरको निर्वाचन परिणाम आएलगत्तै एमाले उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल तथा सचिव रघुवीर महासेठले प्रचण्डलाई भेटेर आफूहरुकै समर्थनमा प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेका छन् । तीनै नेताले अध्यक्ष केपी ओलीको प्रतिनिधिका रुपमा प्रचण्ड भेटेका हुन् ।
बुधबार र शुक्रबार भएका दुई सार्वजनिक समारोहमा ओली र प्रचण्डको हार्दिकतापूर्ण भेटघाट र संवादले पनि मुलुकका दुई प्रमुख कम्युनिष्ट घटकबीचको सम्बन्ध नजिकएको पुष्टि गर्छ । बिहीबार प्रतिनिधिसभा सदस्यको सपथ ग्रहणअघि संसद भवनमा माओवादी केन्द्रका नेता वर्षमान पुन र एमाले नेता नेम्वाङबीच केही मिनेट खासखुस कुराकानी भएको थियो । आफूहरुबीच मिलेर अघि बढनुपर्ने विषयमा कुराकानी भएको नेम्वाङले बताए । ‘कम्युनिष्ट पार्टीहरु मिलेर सरकार बनाउनुपर्छ भन्नेमा हामी छौं’, उनले भने ।
माओवादी अध्यक्ष प्रचण्डले काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिलो कार्यकालमा आफूलाई प्रधानमन्त्री नदिए गठबन्धनबाट बाहिरिने संकेत गरिसेकका छन् । काँग्रेस भने राष्ट्रपति र प्रधानमन्त्रीजस्ता दुई प्रमुख पद आफूहरुसँगै हुनुपर्ने अडानमा छ ।
काँग्रेससँगको चुनावी तालमेलबाट आफूहरुलाई लाभ नभएको विषयले पनि माओवादीमा बहस जन्माएको छ । ‘हाम्रो भोटले काँग्रेस ठूलो पार्टी बन्यो, तर हामीलाई भोट दिएन’, माओवादीका एक पदाधिकारी भन्छन्, ‘विचार र सिद्धान्त नमिल्नेहरुको गठजोडलाई जनताले रुचाएको देखिएन ।’
एमाले सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले बिहीबार प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिने बताएका थिए । ‘यदि गठबन्धन छाडेर आउन तयार हुन्छन् भने प्रचण्डलाई प्रधानमन्त्री बनाएर जान सकिन्छ’, ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३