भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरी पुगेको छ।
मंगलबार प्रहरी उनको घरमा खानतलासी गर्न पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। रायमाझीको घर ललितपुरको सातदोबाटोमा छ।
अहिले तलासी लिने काम भइरहेको एसएसपी कार्कीले बताए। उनीविरूद्ध काठमाडौं जिल्ला अदालतले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो। तर अहिलेसम्म पनि उनी फरार छन्।
उनलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले ७७ वटै जिल्लामा पत्राचार गरेको छ। यस्तै, उनी भारत भागेको हुनसक्ने प्रहरीको आशंका समेत छ।
उनी भारतको लखनउ पुगेको हुनसक्ने आशंकामा केन्द्रीय अनुसन्धान ब्युरोको टोली समेत परिचालन भएको छ। ब्युरोको टोलीले गत शनिबारदेखि उनको खोजी गरिरहेको छ। यद्यपि उनी कहाँ छन् भन्ने खुलिसकेको छैन।
रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी हुँदा उनी अर्घाखाँचीमा थिए। त्यहाँ कार्यक्रममा उपस्थित रहेका उनले आफूविरूद्ध पुर्जी जारी भएपछि काठमाडौं आएर अनुसन्धानलाई सघाउने बताएका थिए।
उनले प्रहरीलाई नै सम्पर्क गरेर पनि आफैं परिसरमा हाजिर हुने बताए। तर उनी आएनन्।
प्रहरीले अहिलेसम्म यो प्रकरणमा ८ जनालाई पक्राउ गरेको छ। जसमध्ये टोपबहादुरकै छोरा सन्दिप पनि एक हुन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७