पहिलो दिन : २०८०।२।३ बुधबार
बिहानीको सूर्योदयसँगै हेटौँडा बजार उज्यालो भयो । मङ्गलबार साँझ सामान्य पानी पर्याे । चिसो बतास चल्यो । चितवनदेखिको गर्मी बोकेको हामीलाई मकवानपुरको सिमभन्ज्याङबाट आएको चिसो बतासले आनन्दित तुल्यायो । यो बागमती प्रदेश सरकार, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय हेटौंडाको आयोजना र नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशको समन्वयमा प्रदेश मातहतका पर्यटन पत्रकारहरूलाई अध्ययन अवलोकन भ्रमणको सन्दर्भ हो । हामीलाई बुधबारदेखि मनुराधाको यात्रामा निस्कनुथियो । जेठ २ गते मङ्गलबार नै म हेटौंँडा पुगेको थिएँ । साँझ ठिक ६ बजे हुँदो हो, नेपाल पत्रकार महासङ्घका महासचिव कृष्ण सारु मगरसँग होटलमा भेट भयो । सिन्धुपाल्चोकका देवराज सुवेदी र नुवाकोटका हरिराम भेटुवाल हेटौंडा आइसकेको खबर पाएको थिएँ । साँझ बस्ने होटलको लोकेसन उनीहरूबाटै पाएँ । बास बस्ने होटेलको कोठाको नम्बर लिएर पुग्दा काभ्रेपलाञ्चोकका सुकदेव थपलिया आराम गरिरहेका रहेछन् । चिसापानी तालिममा उनीसँग हाम्रो चिनजान भइसकेको थियो । हामीले केहीबेर हल्का नास्ता गर्याैँ र गफियौंँ । प्रदेशका अन्य जिल्लाका साथीहरूसँग भोलिपल्ट भेट हुने तय भएको थियो ।
बुधबार बिहान ८:०० बजे पर्यटन मन्त्रालयमा पुग्ने योजनामुताबिक हामी बसेको स्थानमै गाडी लिन आयो । मन्त्रालयमा हामीलाई भ्रमणका लागि शुभकामना प्रदान गर्ने र बिदाइ गर्ने तयारी भएको रहेछ । मन्त्रालयका निमित्त सचिव राधाकृष्ण खतिवडा, अधिकृतद्वय रमेश पौडेल र किशोर सापकोटा तथा अन्य कर्मचारीसँग भेट भयो । परिचयात्मक कार्यक्रम, भ्रमणको उद्देश्य र औचित्यबारे प्रस्ट हुन पाइयो । मन्त्रालयमा हामीलाई शुभकामनासहित खाजा खाने व्यवस्था मिलाएपछि भ्रमण सामग्री, गन्जी, टोपी, झोला, डायरी, पेन ड्राइभ र कलम उपलब्ध भयो । महासङ्घका महासचिव मगर र निमित्त सचिव राधाकृष्ण खतिवडाबाट बिदाइ सँगै मनुरधा यात्रा प्रारम्भ भयो ।
यात्राको सहजीकरण मन्त्रालयका अधिकृत रमेश पौडेलले संयोजन गर्नुभएको थियो । साथमासापकोटाको सहयोग रह्यो । हामी हेटौंडा बजारलाई बिहान करिब ९ बजे छाड्दै राप्तीको मुहान भैंसेलाई देब्रे पारेर भीमफेदीतर्फ उकाली लाग्यौंँ । आहा ! हरिया पहाड, नदीको छङछङ आवाज, खेतबारीको हरियाली, चिसो मौसम । हाम्रो भ्रमणको नाम नै ‘पर्यटन प्रवद्र्धनका लागि पत्रकार’ भन्ने थियो । हामीले बागमती प्रदेशका धार्मिक, ऐतिहासिक, प्राकृतिक, साहसिक र सांस्कृतिक क्षेत्रलाई पर्यटकीय गन्तव्य मानेर तिनको खोज, अन्वेषण र प्रचारप्रसार गर्दै आएका सन्दर्भमा पत्रकार भ्रमण त झनै रोचक र खोजमूलक हुने नै भयो । हामीले लुकेका, ओझेलमा परेका र चर्चा चलाउनैपर्ने पर्यटकीय गन्तव्यबारे सङ्कलन गर्नु नै थियो । तसर्थ हरेक क्षण मेरा डायरी र कलम, क्यामेरा तयारी अवस्थामा नै थिए ।
मकवानपुर ऐतिहासिक, धार्मिक, प्राकृतिक र सबै कुराले चर्चित जिल्ला हो । तरकारी खेती त यस क्षेत्रमा झनै प्रसिद्ध छ । बाटामा हिँड्दै गर्दा किसानहरूले खेतबारीमा पसिना बगाइरहेको देखिन्थ्यो । भीमफेदी सडक छेवैमा गाजरको जुस बनाउने पसल देख्यौंँ । उत्पादित सुनौला रङका गाजर र किसानका मुस्कान पनि सुनौला थिए ।
बाटामा अनेक रङका पुतली, चरा, लटरम्मै पाकेका ऐंसेलु, काफल साँच्चै मनमोहक लाग्थे । कुलेखानी जलविद्युत् आयोजनाको बाँध, पोखरी हुँदै हामी उकालो चढिरह्यौँ । माथि माथि पुग्दा पहाडी घर, खेती, जनजीवन मानसपटलमा कैद हुँदै गए । हामीले चित्लाङ आउनु वरै व्यावसायिक बाख्रा फार्म देख्यौंँ । झन्डै ५०० भेडाबाख्रा पाल्ने व्यवस्थित फार्मको अवलोकन गरियो । त्यहाँ साङ्गीतिक कलाकारहरू सुटिङ गर्न पुग्दा रहेछन् ।
त्यतिखेर भने हामी चित्लाङको नजिक आइसकेका थियौंँ । यो ग्रामीण पर्यटकीय क्षेत्र हो । यहाँ तरकारी खेती प्रशस्त हुने रहेछ । अशोककालीन चैत्य, सातधारा, कृषि उत्पादनका लागि उर्वराभूमि देखियो । यो काठमाडौंँ जाने मार्ग, इतिहास र साहित्य जोडिएको स्थान, चिज उत्पादनको चर्चित क्षेत्र प्रसिद्ध रहेछ । हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले यसै स्थानमा पानी पिएर आराम गर्दै रहेका बेला डोली चढेर काठमाडौँ र पशुपतिनाथ आदि स्थान दर्शन गर्न आएका यात्रुहरु देखेर यहीँ ‘यात्री’ कविता लेखेका रहेछन् –“कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पुजा गर्ने, साथ कसरी लाने हाे । ”
स्थानीय पर्यटन व्यवसायीसँगको छलफलपछि हामीले त्यहीँ खाना खायौँ । पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष शिवप्रसाद देवकोटासँग त्यही भेट भयो ।
दिउँसो ३:०० बजेतिर खाना खाइसकेपछि हामी नुवाकोटको विदुरका लागि प्रस्थान गर्याैँ । बाटो अप्ठ्यारो भए पनि वरपरका दृश्य स्कुले बच्चाको हाँसो र घाँस बोकेका किसानको हेराइ सम्झनालायक थिए । हामी चन्द्रागिरि हुँदै थानकोट निस्कनुथियो । चन्द्रागिरि पुग्न लागेका मात्र के थियौंँ, आकाश डम्म देखिन थाल्यो, चराहरू बादलमा ठोक्किन थाले, पानीको छिटा गाडीको सिसामा टिकटिक गर्न थाल्यो । मौसम चिसो थियो । चन्द्रागिरि, भालेश्वर मन्दिर र केबलकारमा आँखा परे पनि मनमा भने गड्न सकेन, किनकि मलाई कृत्रिम पर्यटनमा त्यति रुचि लाग्दैन । हामी काठमाडौंँको सामाखुसी चोकबाट टोखा हुँदै गुर्जे भन्ज्याङ, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा प्रवेश गर्यौं । जाडो हुन थालेको कुरा कुनाबाट देवराजले गरेका थिए । हामीले ‘चिया, चिया’ भन्दै चिच्याएपछि गाडी रोकेर चिया र दुनोट खायौंँ । सुकदेवले दुनोट पचाउन नसकेको कुरा भोलिपल्ट थाहा पायौंँ ।
सिमसिम झरीको गीत बजाउँदै हाम्रो गाडी लिखु र तादी खोलाको तीरै तीर नुवाकोटको सदरमुकामस्थित विदुर नगरपालिकामा प्रवेश गर्यो । यहाँ आइपुग्दा पानी झन् बेस्सरी दर्कियो । गंँगटेबाट दक्षिण– पश्चिम गल्छी जाने दिशातर्फ गाडी हुँकियो । केहीबेरमै हामी देवीघाट पुग्यौंँ । पृथ्वीनारायण शाहको सालिक हेर्दै जाल्पादेवी मन्दिर आइपुगियो । बडामहाराजाधिराजको समाधिस्थल तथा त्रिशूली र तादीखोलाको सङ्गमस्थलमा रहेको जालपादेवीको मन्दिर एक ऐतिहासिक र धार्मिक पर्यटकीय गन्तव्य रहेछ । केहीबेर यस क्षेत्रको अववलोकन र छलफलपछि विदुर बजारमा पुगेर धु्र्व रावलको ‘सुखद पाहुनाघर’ मा बास बस्यौंँ ।
दोस्रो दिन : २०८०।०२।०४ बिहीबार
भ्रमणको दोस्रो दिन रसुवा जिल्लाको ऐतिहासिक रसुवागढीका लागि प्रस्थान गर्नुथियो । बिहान ७:३० बजे खाजा खाएर गाडीमा चढिसक्नुपर्ने योजना थियो । मलाई भने नुवाकोट पुगेपछि साततले दरबार र भैरवी मन्दिरको दर्शन गर्न भित्रैदेखि इच्छा थियो । धेरै पहिले विद्यार्थीहरूलाई अवलोकनका लागि लिएर म त्यहाँ गएको थिएँ । भूकम्पपछिको अवस्था पनि हेर्नुथियो । म त बिहान ४ बजे नै उठेँ । अन्य साथीहरूलाई अनुरोध गरे पनि इच्छाएको पाइन । दरबार जानका लागि म भने ५:१० नै हुइँकिएँ । झन्डै एक घण्टा साततले दरबार पुगी भैरवी मन्दिरको दर्शन गरेँ । त्यहाँको एउटा जानकारी पुस्तिका किनेर बजारतर्फ फर्किएँ । केही साथीहरू विदुर जम्मा भएर बसेका थिए । त्यहीँ खाजा खाएर हामी गाडीमा बस्यौंँ र लाग्यौंँ रसुवातर्फ ।
बिजुली उत्पादन गर्न त्रिशूलीको पानीमा बाँध बनाएर बालुवा थिगार्ने प्रक्रियाबाट त्यहाँ गजबको ताल बनेको रहेछ । विदुर नगरपालिकाले यसलाई ‘ड्रिम प्रोजेक्ट’का रूपमा पर्यटकीय क्षेत्र बनाउँदै रहेछ । विदुर–७ र ९ का वडाध्यक्षसँग कुरा गरी पोखरीका बारेमा जानकारी लिई हामी अगाडि बढ्यौ । अपराह्न करिब १ बजेतिर कालिकास्थानमा अर्गानिक रेष्टुरेन्टमा खाना खायौं । त्यहाँको कृषि पर्यटनबारे व्यवसायी विष्णु आचार्यसँग छलफल गरियो ।
रसुवाको धुन्चे बजार कच्ची सडक पार गर्दै स्याफ्रुबेंसीबाट माथि बहुचर्चित चिलिमे जलविद्युत् आयोजना अवलोकन गर्याैँ । विसं २०५० मा दर्ता गरी २०५८ सालमा २२.१ मेगावाट बिजुली उत्पादन सुरु भएको जानकारी इलेक्ट्रोनिक इन्जिनियर आन्दोलन पराजुलीबाट थाहा भयो । पासाङ ल्हामु राजमार्ग हुँदै रसुवागढी पुग्नु चिलिमेपछिको गन्तव्य थियो ।
ऐतिहासिक रसुवागढी, नेपाल तिब्बत सिमानाको मितेरी पुल, लिन्दे खोला र केरुङको दोभान अवलोकन गर्यौं । तिब्बततर्फको विकासको गति १०० मिटर वारपारमै आकाश पातालको फरक थियो । पर्यटन मन्त्रालयका रमेश पौडेल केरुङसम्म जाने तयारीमा थिए तर सबैसँग आवश्यक कागजात पूरा नहुँदा त्यो सम्भव भएन ।
लिन्दे खोलामा चिनियाँहरूले पर्खाल लगाइरहेको देखिन्थ्यो । रसुवागढीमै चिया खाने सल्लाह भयो । स्थानीयवासीले सिमाना पारिबाट सामानहरू ल्याइरहेको देखिन्थ्यो । सुख्खा बन्दरगाहमा सामान ढुवानी गर्न बसेका लस्करै बसेका थिए । चिनियाँहरू विद्युतीय गाडी धमाधम नेपाल निर्यात गरिरहेका देखिन्थे ।
चिया खाइसकियो । भोक साह्रै लागेको रहेछ कि क्या हो । यसपालि दुई कोकोनट बिस्कुट र कालो चिया सिनित्तै पारेछु । चालकको इसारासँगै तिब्बतलाई पछाडि पार्दै सिमानाबाट धुन्चेका लागि फर्कियाैँ । मैले जीवनमा यति ठुला पहाड कहिले देखेको थिइन जुन रसुवागढी जाँदा देखेँ । ती अजङ्गका पहाड ठोक्दै विद्युत् उत्पादनका लागि सुरुङ खनिइरहेको रहेछ । पहाडहरू पिठ्युँमा छिना र हम्मरको खोपाइ सहँदै गर्भमा सुरुङका पाइप बोकेर थपक्क चुपचाप बसेका थिए ।
गोसाईँकुण्ड गाउँपालिका प्रवेश गरेसँगै त्रिशूली नदीको तीरमा नमिठो गन्ध हावासँगै गाडी भित्र छिर्यो । म अगाडिको सिटमा थिएँ । दायाँपट्टि ड्राइभरलाई छल्दै नदीको किनारमा आँखा गयो । धुन्चे बजारको सबै फोहोरविना ट्रिट यहीँ फालिँदो रहेछ । पर्यटनका लागि सरसफाइ, वातावरणका लागि सरसफाइ, स्वास्थ्यका लागि सरसफाइ भनेर एक दशकदेखि नदी किनार, ताल, पोखरी सरसफाइ गर्दै अभियान चलाएको म आफूलाई यो दृश्य देख्दा साह्रै नरमाइलो लाग्यो । धुन्चेबाट फालेको फोहोर नारायणी पुग्छ र जलचर प्राणीलाई असर गर्छ भन्ने कुरा कसले कसलाई सुनाइदिने ?
साँझ साँझ पर्न लाग्यो । सूर्यलाई पहाडले छेकिसकेको थियो । धुन्चेमा टिलपिल बिजुली बत्ती बल्न सुरु गरिसकेका थिए । निर्धारित होटलमा जानका लागि हामीलाई जानकारी प्राप्त भयो । म र देवराजलाई कोठा नं १३ मा बस्न भनी व्यवसायी रामशरणले देखाइदिए । तर मैले बेलुका लेखनका लागि शान्त कोठा चाहिने र दृश्य पनि देख्न मिल्ने कोठा अनुरोध गरेँ र अर्को कोठामा सरेर सामान थन्क्याएँ । बागमती प्रदेशका १३ जिल्लाका १७ पत्रकार र आयोजक पर्यटन मन्त्रालय समन्वय गर्ने पत्रकार महासङ्घ बागमती प्रदेशलाई यहाँको गोसाईँकुण्ड गाउँपालिका अध्यक्ष कैसङनर्बु तामाङ, होटल व्यवसायी, पर्यटन उद्यमीलगायतले संयुक्त रुपमा स्वागत गर्नुभयो । पर्यटन विकास र सम्भावनाका खोजीबारे गम्भीर अन्तरक्रिया भयो । आधुनिक विकास र निर्माणले ग्रामीण पर्यटनलाई कमजोर बनाउँदै लगेको, पदमार्गको संरक्षण हुन छाडेको तथा होटल व्यवस्थापन चुस्त बनाउनुपर्ने, सूचना केन्द्र स्थापना गर्नुपर्ने, सरसफाइ अभियान चाल्नुपर्ने, संस्कृतिको संरक्षण गर्नुपर्ने विषयमा व्यापक छलफल गरियो । सोही होटलमा खाना खाइवरि रसुवाको धुन्चेमा मैले जीवनको पहिलो रात बिताएँ ।
तेस्रो दिन : २०८०।०२।०५ शुक्रबार
आज भ्रमणको तेस्रो दिन धुन्चे बजार घुम्ने योजनाबारे सुत्नुअघि नै देवराजलाई भनेको थिएँ । अर्धचेतन मनले बिहानको ५ बजे नै मनको ढोका ढकढकियो । बिहान ५ बजे नै धुन्चे खुलिसकेको थियो । गोसाईँकुण्डमा शनिबारदेखि दशहरा मेला लाग्ने भएकाले तीर्थालुहरू बिहानैदेखि बन्दोबस्तीका सामान बोकेर लौरी टेक्दै उकाली लाग्दै गरेको भेटिए । गोसाईँकुण्ड प्रवेश स्थानमा जानकारीसहितको एउटा पुरानो बोर्ड रहेछ । त्यहाँबाट पूर्व पदमार्ग हुँदै केहीबेर अगाडि बढ्यौंँ । पर्यटन व्यवसायी शिव लामिछाने, अम्बिर गुरुङ त्यहीँ भेटिए । तीर्थालुसँगै हामी पनि हिँड्यौंँ । उनीहरूको लौरी मागेर म पनि तीर्थयात्रीजस्तै बनी फोटो खिचेँ । ‘शुभयात्रा’ भनी उनीहरूसँग त्यहाँबाट छुट्टियौंँ । हामीसँगै हाम्रै साथी हरिराम भेटुवाल धुन्चे बजारको दृश्य क्यामेरामा हालिरहेका थिए ।
आज धादिङ पुग्ने कार्यतालिका थियो । चियानास्ता खाएर बिदाबारी भयौंँ । बाटामा स्याउबारी भन्ने स्थानमा झरेर स्याउको बोट अवलोकन गर्यौंँ । मैले जीवनमा स्याउको बोट यहीँ आएर देखेको हुँ । ‘रेडियो लाङटाङ’ ९०.३ मेगाहर्जको कार्यालयमा पुगेर स्टेसन अवलोकन गर्यौंँ । हामीले चिया खायौंँ र फर्कियौं । यतिबेला बिहानको ९ बजिसकेको थियो । रसुवालाई छाडेर नुवाकोट नजिक आइपुग्यौंँ । पवित्र धार्मिकस्थल उत्तरगया धाम, बेत्रावती, रामजानकी मन्दिरमा प्रवेश गरियो । पारिपट्टि नुवाकोटको तुप्चे फाँट, त्रिशूली, सलाखु, फलाखु खोलाको सङ्गम निकै रमणीय रहेछ । वेत्रावती ऐतिहासिकस्थल हो । विसं १८४९ मा नेपाल तिब्बतबिच सन्धि भएको स्थान यही हो । चीन– तिब्बत सेनाले नेपाली सेनालाई धकेल्दै पछाडि ठेल्दै यही वेत्रावतीमा आइसकेपछि युद्धविराम भई सन्धि भएको हो । विसं २०४९ मा योगी नरहरिनाथले कोटीहोम लगाएको यो क्षेत्र धार्मिक रूपले पनि प्रख्यात रहेछ । यहाँ श्राद्ध गर्न आउनेहरूको ठुलो घुइँचो लाग्छ । पुसेऔंसीमा यहाँ श्राद्ध गर्नेको अत्यधिक भिड हुन्छ । उत्तरगया धाम वेत्रावती नदीमा पुगेर हामीले हेटौंँडाका अनिल र रवीनसँगै फोटो खिचायौंँ । स्थानीयवासी बुद्धिबहादुर नगरकोटीसँग यहाँको बारेमा जानकारी लियौंँ ।
पवित्र तीर्थस्थल उत्तरगया धाम फेरि आउने इच्छाकामनासहित हामी यहाँबाट छुट्टियौंँ । करिब ११ बजे नुवाकोटको एक हाइवे होटलमा खाना खायौंँ । नगरपालिकाका प्रमुख राजन श्रेष्ठसँग केहिबेर अन्तरङ्ग गयौंँ, यहाँको पर्यटकीय सम्भावना र अवस्थाबारे जानकारी लियौंँ । नगरपालिकामा छलफलपछि हामी धादिङतर्फ उक्लियौंँ । विदुर बजारबाट पश्चिम कच्ची बाटो समातेर हामी अगाडि बढ्याैँ । खोंचको बाटो हुँदै जाँदा वरपर हरिया मकै र चैते धान झुलिरहेका देखिन्थे । स्कुले बालकहरू बाटामा हाँस्दै घर फर्किरहेका देखिन्थे । वरपरका वनस्पतिबाट सुगन्ध आइरहेको थियो । हामी वली डाँडामा झयौंँ । चिया खाने कुरा चल्यो । त्यसैबेला स्थानीयवासी ७८ वर्षीया श्रीमाया थापा मगरसँग कुराकानी गरेँ । वली डाँडामा एकछिन सबै हाँस्यौंँ पनि । साँझ पर्न लाग्दै गर्दा धादिङबेंसी प्रवेश गरियो । साँघुरो गल्ली छिचोल्दै हाम्रो गाडी बजारभित्र छिर्यो । अहो, कत्रो असिना पानी हामीलाई कुरेरै बसे जस्तो लाग्यो । गाडीको सिसा नै फुट्ने गरी असिना पानी बर्सिरह्यो । हाम्रा चालक आत्तिए झैँ देखिन्थे । झन् यही बेलामा होटल प्रवेशका लागि ठेगाना थाहा भएन । अलमलमा पयौंँ । यताउता सोध्यौंँ र फोन गरेपछि ठेगाना बल्लतल्ल पत्ता लाग्यो । चुक घोप्टिए झैँ अँध्यारो धादिङबेंसी उर्बौलो असिना र पानी रोकिएपछि विस्तारै खुल्यो । वरपरका पसलमा बत्ती पिलपिलाउन थाले । धुन्चेदेखिको लामो यात्राले आज अलि थाकेको रहेछु । कोठामा आराम गरेर बसेपछि खानाका लागि झर्याै । आज भने काभ्रेका रञ्जित तामाङ मसँग साथी थिए । हल्का खाना, रोटी र दाल खाएर लुपुक्क निदायौंँ ।
अन्तिम दिन : २०८०।०२।०६ शनिबार
जेठ ३ गते मकवानपुरबाट सुरु भएको मकवानपुर, रसुवा, नुवाकोट र धादिङ यात्राको अन्तिम आज बिहान सबेरै उठेर नुहाइधुवाइ गरेँ । रञ्जितले ल्यापटपमा केही टाइप गरिरहेका थिए । छिटोछिटो चियानास्ता गरेर तयारी भयौंँ । हामीलाई नेपाल प्रेस युनियन धादिङले स्वागत कार्यक्रम राखेको रहेछ । त्यहीँ धादिङको पर्यटनबारे जानकारी लिने काम भयो । छिटोछिटो भैरवी मन्दिरतर्फ जानका लागि गाडी चढ्याैँ । झन्डै डेढ घन्टाको यात्रापछि ऐतिहासिक भैरवी मन्दिर पुग्यौंँ । यो पर्यटकीय सम्भावना बोकेको क्षेत्र रहेछ । यसलाई प्रवद्र्धन र प्रचार गर्न आवश्यक देखियो ।
मन्दिरबाट सोझै धादिङबेंसी झरियो । धादिङका प्रमुख जिल्ला अधिकारी र सुरक्षाकर्मीसँगको छलफलपछि खाना खाइयो । अब भने हाम्रो बिदाइको क्षण आयो । साढे तीन दिनको यात्रा धेरै अनुभव र संस्मरणलाई मानसपटलमा कैद गरेर बिदाइका हात हल्लाउनुथियो । समग्र भ्रमण आयोजकको उद्देश्यानुरूप रह्यो । नचिनेका पर्यटकीयस्थल छलफल र अन्तरक्रियाले क्षमताको विकास भएको अनुभूति गरेको छु । यस्ता थुप्रै स्थलको पहिचान, प्रचार र प्रवद्र्धन गर्न पत्रकारका तर्फबाट राज्यलाई अनुभूति हुने गरी काम गरिरहने सङ्कल्प गरेको छु । भ्रमणले वास्तवमै पुनर्ताजगी गरायो । मनुरधा यात्रा अत्यन्तै फलदायी रह्यो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३