सर्वसाधारण उपभोक्तामा प्याज किन्दा नै आँसु आउने अवस्था सिर्जना भएको छ । सरकारले बजेटमार्फत तरकारी तथा फलफूलजन्य वस्तु आयातमा १३ प्रतिशत भन्सार महसुल (भ्याट) वृद्धि गरेसँगै प्याजको भाउ आकासिएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेसँगै प्याजको मूल्य वृद्धि भएको हो ।
आयातकर्ता व्यवसायीले आलु, प्याजमा नौ प्रतिशत कृषि सेवा शुल्क र अग्रिम आयकर पाँच प्रतिशत गरी १४ प्रतिशत कर भुक्तानी गर्दै आएको थियो तर अहिले थप १३ प्रतिशत कर बुझाउनुपर्ने भएपछि प्याजको मूल्यमा वृद्धि भएकाले भान्छा महँगो हुने भएको छ ।
भारतबाट प्याज आयात गर्ने व्यवसायीले भन्सार बिन्दुमै भ्याट भुक्तानी गर्नुपर्ने भन्दै जेठ २१ गतेदेखि आलु तथा प्याजको आयात बन्द गरेको दाबी गरेका छन् तर बजारमा प्याजको अभाव छैन । मूल्य भने आकासिएको छ ।
कालीमाटी थोक व्यापारीहरूको संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले २१ गतेदेखि आधिकारिक व्यापारीबाट बजारमा प्याज नआएको फाइदा बिचौलियाले उठाउँदा बजारमा प्याजको मूल्य महँगो भएको दाबी गरे ।
कालीमाटी फलफूत तथा तरकारी बजार विकास समितिले २२ गतेदेखि दैनिक मूल्य सूचीमा प्याज समावेश गरेको छैन । कालीमाटी समितिका अनुसार असार १५/१६ गतेसम्म कालीमाटीमा प्याज प्रतिकेजी ३२/३५ रुपैयाँमा कारोबार भएकामा २१ गते प्रतिकेजी ५० रुपैयाँ र २२ गते ६० रुपैयाँमा किनबेच भएको थियो ।
कालिमाटीभित्रै एक हप्तामै प्याजको मूल्य दोब्बरले वृद्धि भएर प्रतिकेजीकै ११० देखि ११५ रुपैयाँ खुद्रा मूल्यमा बिक्री भइरहेको छ । कालीमाटीबाहिरका खुद्रा पसलमा प्याजको भाउ प्रतिकेजी १२५ रुपैयाँदेखि १४० रुपैयाँसम्म छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७