एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय हितका विषयमा छिमेकीसँग स्पष्ट कुरा राख्न सक्नुपर्ने बताएका छन् ।
शनिबार एमाले परराष्ट्र विभागले राजधानीमा गरेको कार्यक्रममा ओलीले आफ्ना जायज विषय छिमेकीका अगाडि राख्न नसक्ने सरकार र सत्ताको अर्थ नहुने उल्लेख गरे । छिमेकीसँग आफ्ना एजेण्डा निर्धक्कसँन्ग राख्न सक्नुपर्ने उनको भनाइ थियो ।
‘सीमानाको समस्या अर्जेन्टिना र चिलिसँग हुँदैन छिमेकीसँगै हुने हो’ ओलीले भने, ‘छिमेकी मित्रसँग जायज हितबारे बोल्न सक्दैनौ भने त्यस्तो सरकार र सत्ताको के अर्थ ?’ मुलुकको हितमा कुरा राख्न नसक्ने भए डेलिगेशन (भ्रमण) मा जानुको औचित्य नहुने उनले बताए । मुलुकको नेतृत्व गरिरेकाहरुमा देशको भन्दा सत्ता स्वार्थ प्रमुख भएको आरोप ओलीले लगाए । ओलीले आफूहरुको हितको कुरा गरिरहँदा छिमेकीका जायज हितबारे पनि गम्भीर हुनुपर्ने स्पष्ट गरे ।
फरक प्रसंगमा ओलीले नेपालले असंलग्न परराष्ट्र नीतिबाट दायाँबायाँ हुन नहुने बताए । कतिपय अवस्थामा भारत मौन बस्ने तर, नेपालले समर्थन वा विरोध गरिरहेको भन्दै आलोचना गरे ।
‘साँढे लडेको ठाउँमा पछाडिबाट गएर बाच्छाले घुँडा धसेजस्तो गर्नु हुँदैन । हामी तटस्थ हुँदा सबैसँग कुरा गर्न सक्छौं । आगोमा आगो थपेर आगो निभ्दैन । कुराको छेस्को थपेर कुनै काम छैन,’ उनले भने । ओलीले नेपाली भूभागमा कुनै प्रकारको सैन्य उपस्थिति स्वीकार्य नहुने पनि बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३