इलाम २ को उपनिर्वाचनको उम्मेदवार चयनमा एमालेले आइतबार एउटा ‘बोल्ड’ निर्णय गर्यो । एमालेले आफ्ना दिवंगत नेता सुवास नेम्वाङका कान्छा सुपुत्र सुहाङलाई त्यस क्षेत्रका लागि आधिकारिक उम्मेदवार बनायो ।
सुहाङ जस्तै त्यो क्षेत्रमा उम्मेदवार हुन आकांक्षा राख्ने जिल्ला उपसचिव रवीन्द्र सुवेदी, जिल्ला सदस्य डा.देवीक्षेत्री दुलाल, इलाम–२ क्षेत्रीय संयोजक बुद्धिप्रसाद खनाल, नेता नरेन्द्रनाथ भट्टराई र कोशी प्रदेश सदस्य रिपल राई सुहाङलाई बधाई दिने पात्र मात्र बने ।
सुहाङ उम्मेदवार बनेपछि साहित्यकार एवम् समालोचक खगेन्द्र संग्रौलाले ट्वीट गर्दै लेखे,‘पितृशोकमा रहेका सुहाङ नेम्बाङप्रति मेरो सहानुभूति र समभाव छ । तर दिवंगत बाबुका छोराका नाताले आँशुका भोट बटुल्न सामन्ती बंशवादकै हुबहु नक्कल भएन र ? राजतन्त्र फाल्दा हामी बंशवादको विरोधमा थियौं, होइन र ?’
संग्रौलाको टिप्पणीले नेपाली राजनीतिको परम्परा जस्तै बन्दै आएको प्रवृत्तिप्रति प्रश्न खडा गरिदिएको छ । सुहाङलाई उम्मेदवार बनाएको निर्णय हेर्दा सामान्य लागेपनि राजनीतिमा ठूलो नैतिक प्रश्न बनेको भनेर टिकाटिप्पणी सुरु भएको छ । नेपाली राजनीतिमा २०४६ सालपछि यस्तै श्रृंखला दोहोरिँदै आएको छ । गाउँमा बसेर संगठन बनाउन, निर्वाचनको समयमा रातदिन खटेर मत माग्न, मतको सुरक्षा गर्नेदेखि प्रतिद्वन्द्वी शक्तिसँग भिड्ने नेताकार्यकर्ताहरु नै हुन्छन् । तर, जब नेताले अवसर वितरण गर्ने समय आउँछ, अनि उनको मुख्य ध्यानचाहिँ आफन्तको जीवन सुरक्षाका पक्षमा जाने गरेको प्रशस्त दृष्टान्तहरु पाउन सकिन्छ । नाता, त्यसमाथि आफ्नो परिवारकै सदस्य, निकटको आफन्त र विश्वास प्राप्त व्यक्तितिर निर्णय तहमा रहेका नेताको नजर जानुलाई गम्भीर नैतिक प्रश्नको रुपमा हेरिएको छ ।
देशको ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि सत्ताको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्डसम्मका नेताहरुको सोच र शैली बंशवादमा केन्द्रित देखिन्छ । पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालादेखि एमाले महासचिब मदन भण्डारीसम्मलाई हेर्ने हो भने नाताबाद र बंशवाद भन्दा माथि उठ्न नसकेको प्रशस्त उदाहरणहरु देख्न पाइन्छ । नेपालका कांग्रेस–कम्युनिष्ट पार्टी र तिनका नेताहरुको फेहरिस्त केलाउने हो भने नातावादले नराम्रोसँग जेलिएको पाउन सकिन्छ । हाल सुहाङका पक्षमा आएको एमालेको निर्णय तत्कालीन नेता रवीन्द्र अधिकारीको निधन हुँदापनि श्रीमती विद्या भट्टराईको भाग्य उसैगरी चम्किएको थियो ।
कास्की क्षेत्र नम्बर २ बाट एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएर संघीय संसदमा प्रवेश गराउन सफल भयो । तत्कालीन पर्यटन मन्त्री एवं कास्की २ का प्रतिनिधिसभा सदस्य अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा विद्यालाई अघि सारिएको थियो । एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको मुस्ताङमा कांग्रेसले पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा योगेशलाई २०७९ को निर्वाचनमा उम्मेदवार मात्र बनाएर संघीय सदनमै प्रवेश गरायो । अस्वस्थ्य शरीरका कारण राजनीतिमा विश्रामकै अवस्थामा पुगेका रोमीले छोरालाई राजनीतिमा स्थापित गराएरै छाडे ।
राजनीतिमा नातागोता र बंशवादको श्रृंखला लामो छ । स्थानीय तह, प्रदेश तह सबैतिर नातागोताको जगजगी छ । जसका कारण संगठनका सिपाहीहरु अवसरबाट बञ्चित हुने गरेका छन् ।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी स्वर्गीय नेता मदन भण्डारीको श्रीमती हुन् भन्ने कुरा सबै नेपालीलाई जानकारी छ । राजनीतिमा सामान्य सक्रिय मात्र रहेकी उनले मदनकै श्रीमती भएका कारण राजनीतिक उचाइ लिइन् । त्यतिमात्र होइन कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग उनको दाजु–बहिनीको साइनो नै छ । राष्ट्रपति भण्डारी पूर्व राष्ट्रपति रामवरण यादवको भतिजी किरणकी सम्धिनी पनि हुन् । पूर्व राष्ट्रपति यादवका छोरा डा.चन्द्रमोहन पनि कांग्रेसका नेता नै हुन् । परिवारका व्यक्तिहरु राजनीतिमा भएका कारण विद्यालाई उत्प्रेरित गरेको बुझ्न सकिन्छ ।
नेपाली राजनीतिमा कोइराला परिवारको प्रभाव सबैभन्दा बढी देखिन्छ । सिन्धुलीको दुम्जा थातथलो भएका कोइराला परिवार विराटनगर बसाइसराइ भएपछि राजनीतिमा सक्रियता मात्र बढाएनन् कांग्रेसको राजनीतिमा ठूलो प्रभाव नै जमाए । मुलुकका तीन प्रधानमन्त्री जन्माउने कृष्ण प्रसादका जेठा छोरा मातृकाप्रसाद हुन् । उनी नेपालको प्रधानमन्त्री, नेपाली राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसको सभापति भए । प्रधानमन्त्री भएर पनि राजदूत हुने उनी पहिलो व्यक्ति हुन् ।
उनकै छोरा कमल कोइराला कम्युनिष्ट नेता भएर काम गरेका थिए भने उनी पनि राजदूत भएर दक्षिण कोरियामा बसेका थिए । कृष्ण प्रसादका माइला छोरा विश्वेश्वर प्रसाद(बीपी)नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री नै भए । बीपीका कान्छा पुत्र डा. शशांक कोइराला कांग्रेस केन्द्रीय सदस्य छन् ।
बीपीका जेठा छोरा प्रकाश कोइरालाले पनि लामो समय राजनीति नै गरे । ५१ र ५६ सालको संसदीय निर्वाचनमा विजयी भएर वन तथा भू संरक्षण मन्त्रीसम्म भए । कृष्ण प्रसादका काइला छोरा केशव र पत्नी नोना कोइराला कांग्रेसको सक्रिय राजनीतिमा थिए । केशव र नोनाका जेठा छोरा डा. शेखर कोइराला कांग्रेस केन्द्रीय सदस्य छन् ।
कृष्ण प्रसादका अन्तरे छोरा तारणी प्रसाद कोइराला राजनीतिको साथै साहित्य र पत्रकारितामा समेत संलग्न थिए । उनको निधनपछि छोरी कल्पनाका श्रीमान् लक्ष्मण बहादुर बस्नेत कांग्रेसको राजनीतिमा सक्रिय भए । उनले कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको २२ वर्षसम्म अध्यक्षको पद छाडेनन् ।
कृष्ण प्रसादकै कान्छा छोरा गिरिजा प्रसाद कोइराला पाँच पटकसम्म प्रधानमन्त्री भए । उनी नवौंदेखि ११औं महाधिवेशनसम्म पार्टीको सभापति भए । गिरिजा प्रसादकी एक मात्र छोरी सुजाता कोइराला मन्त्री र उपप्रधानमन्त्री भइसकेकी छन् भने हाल कांग्रेसको राजनीतिमा सक्रिय छिन् । सुजातालाई स्थापित गराउन गिरिजाले ठूलो कसरत गरेका थिए ।
कृष्ण प्रसादकी जेठी छोरी इन्दिरा आचार्य पनि राजनीतिमा थिइन् । इन्दिराकी जेठी छोरी शैलजा आचार्य नेपालको पहिलो महिला उपप्रधानमन्त्री बन्न सफल भइन् ।
इन्दिराकी कान्छी छोरीसँग कांग्रेस नेता चक्र बास्तोलाको विवाह भएको थियो । बास्तोलाकी भाञ्जी सरिता प्रसाईं कांग्रेसको राजनीतिमै सक्रिय छिन् । पूर्वउपप्रधानमन्त्री सुवर्ण शमशेरका नातेदारहरू कांग्रेसको राजनीतिमा हाल उदयशम्शेरले स्थान जमाइरहेका छन् ।
कांग्रेसका पूर्वउपसभापति तथा नेता प्रकाशमान सिंह कांग्रेसका संस्थापक नेता लौहपुरुष गणेशमान सिंह र नेपाल महिला संघकी सस्थापक नेता मंगलादेवी सिंहका छोरा हुन् । गणेशमान सिंहका धर्मपुत्र पीएल सिंह काठमाडौं महानगरका मेयर नै भए ।
कांग्रेस प्रवक्ता तथा निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण र डा. रामशरण महत नाताले दाजुभाइ हुन् । प्रकाशशरण निर्वाचनमा विजयी नै नभइ अर्थ, ऊर्जा र परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाए । रामशरण कहलिएका अर्थमन्त्री भए ।
कांग्रेसका युवा नेता तथा महामन्त्री गगन थापा र केन्द्रीय सदस्य तथा बारम्बार मन्त्री भएका अर्जुननरसिंह केसी ज्वाइँ–ससुरा हुन् । केसीकी कान्छी छोरीसँग गगनको विवाह भएको हो । पूर्वसांसद जगदीश्वर नरसिंह केसी अर्जुननरसिंहका सहोदर भाइ हुन् । उनी कांग्रेस नुवाकोटको सभापति समेत भए ।
कांग्रेसका केन्द्रीय सदस्य स्वर्गीय खुमबहादुर खड्काकी श्रीमती शिलालाई सांसद नै बनाइयो । कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँड र सांसद मञ्जु खाँड श्रीमान श्रीमती हुन् । मञ्जु अहिले सांसदको लोगो भिरेर हिड्न सफल भएकी छिन् । कांग्रेस नेता उमेशजंग रायमाझी र राष्ट्रिय सभाका निवर्तमान सांसद रमेशजंग रायमाझी सहोदर दाजुभाइ हुन् । उनीहरुले राजनीतिमा प्रशस्त अवसर लिएका छन् ।
एमाले नेतृ अष्टलक्ष्मी शाक्य र पूर्वएमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा श्रीमान–श्रीमती हुन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल र पूर्व सभासद् मीरा ध्वजु श्रीमान श्रीमती हुन् । उनीहरुले पार्टीबाट विभिन्न फाइदा लिइसकेका छन् ।
नेता राजेन्द्र पाण्डे र अर्का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे दाजुभाइ हुन् । पूर्व उपसभामुख डा. शिवमाया तुम्वाहाम्फे र प्रतिनिधिसभाका सदस्य भइसकेका विजय सुब्बा दाजु–बहिनी हुन् । नेकपा मालेका संस्थापक महासचिव सीपी मैनाली कम्युनिस्ट नेता राधाकृष्ण मैनालीका सहोदर भाइ हुन् । उनीहरुले राज्यको जिम्मेवार पदमा बसेर काम गर्ने अवसर पाए ।
प्रदेश मुख्यमन्त्री भइसकेका शंकर पोखरेल र प्रतिनिधिसभा सांसदमा जिम्मेवारी सम्हालिसकेकी सुजिता शाक्य श्रीमान–श्रीमती हुन् । पूर्वकानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङ र प्रदेश सांसद भइसकेकी उषाकला राई श्रीमान श्रीमती हुन् । हालका मन्त्री रघुवीर महासेठ र प्रतिनिधिसभा सदस्य भइसकेकी जुली महतो श्रीमान श्रीमती हुन् ।
एमालेका पूर्वअध्यक्ष स्वर्गीय मनमोहन अधिकारी र एमाले नेता भरतमोहन अधिकारी दाजुभाइ हुन् । मनमोहनका छोरा बुहारी शान्ति अधिकारी सांसद नै बनिन् । नेकपा केन्द्रीय सदस्य पूर्व मुख्यममन्त्री हिक्मत कार्की र पूर्व सभासद् दीपक कार्की दाजुभाई हुन् । कार्की दाजुभाई एमाले अध्यक्ष केपी ओलीकै क्षेत्रका भएकाले पनि पटक पटक अवसर लिइरहेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाकोे मेयर छिन् । रेणुलाई मेयरको टिकट दिलाउने बेलामा प्रचण्डले तत्कालीन गठबन्धनसँग ठूलै संघर्ष गर्नुपरेको थियो ।
दाहालकी कान्छी छोरी गंगाका श्रीमान् जीवन आचार्य कोशी प्रदेशमा मन्त्री भए । प्रचण्डकी बुहारी (छोरा स्वर्गीय प्रकाशकी श्रीमती) बिना मगर खानेपानी मन्त्रीको कुर्सी सम्हालिन् । दाहालका भाइ (काकाको छोरा) नारायण दाहाल अहिले राष्ट्रिय सभा अध्यक्ष छन् । नारायणलाई अध्यक्षको पद दिलाउन प्रचण्डले सत्ता समीकरण नै परिवर्तन गर्न भ्याए ।
नेता हरिबोल गजुरेल र नेता सीपी गजुरेल दाजुभाइ (दाजुभाइका छोराहरु) हुन् । पूर्व सभामुख ओनसरी घर्ती मगर र अर्थमन्त्री वर्षमान पुन श्रीमान श्रीमती हुन् । प्रचण्डका प्रिय पात्र मानिएका पुन दम्पत्ती सक्रिय राजनीतिमा मात्र छैनन् पदीय जिम्मेवारी आलोपालो रुपमा ग्रहण गरिरहेका छन् ।
उर्जामन्त्री शक्ति बस्नेत र पूर्वमन्त्री एवं सांसद सत्या पहाडी श्रीमान–श्रीमती हुन् । पूर्व गृहमन्त्री तथा माओवादी नेता जनार्दन शर्माका भाइ अनिल शर्मा अखिल क्रान्तिकारी हुँदै पार्टीको विभिन्न तहमा सक्रिय छन् । माओवादी केन्द्रका महासचिब देव गुरुङकी श्रीमती यशोदा गुरुङ सुवेदी प्रतिनिधिसभा सदस्य भइसकेकी छन् । हितमान शाक्य र सांसद भइसकेकी अमृता थापा मगर श्रीमान श्रीमती नै हुन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेतृ हिसिला यमी श्रीमान श्रीमती हुन् । हिसिलाले मन्त्रीसम्मको जिम्मेवारी लिइसकेकी छिन् । भट्टराईकी छोरी मानुषी पनि राजनीतिमै सक्रिय छिन् । उनी काठमाडौं ७ बाट प्रतिनिधि सभा सदस्य पदमा चुनावी प्रतिस्पर्धा नै गरिन् । अर्धभूमिगत वामपन्थी नेता मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाकी प्रतिनिधिसभा सांसद भइसकेकी दुर्गा पौडेल श्रीमान श्रीमती हुन् । दुर्गाले समानुपातिक र प्रत्यक्षगरी प्रतिनिधि सभामा अवसर नै पाइन् ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र पूर्वमन्त्री जयन्त चन्द बाबु–छोरा हुन् । नेता राजेन्द्र महतोकी श्रीमती शैलदेवी महतो सभासद नै भइन् । राजकिशोर यादवकी श्रीमती सरिता यादव पूर्व सांसद नै हुन् । नेताहरुको नातागोताको लहरो लामो छ । स्थानीय तह र प्रदेशमा जिम्मेवारी पाएका नेताहरुको नाता सम्बन्ध केलाउने हो भने बंशवाद र नातागोताको हाँगाबिँगा बाक्लै देख्न पाइन्छ । विश्लेषक एवम लेखक डा.देवी क्षेत्री दुलाल नातागोता र बंशवाद स्वाभाविक भएपनि योगदान, सक्रियता र क्षमतालाई पनि मूल्यांकन हुनुपर्ने बताउँछन् । ‘सहानुभूतिका नाममा परिवारका जोसुकै पात्रलाई अगाडि बढाउँदा सक्रिय कार्यकर्तामा निराशा छाउनसक्छ । संगठनभित्र विग्रह हुनसक्छ । यसबारे जुनसुकै दलहरु सचेत हुनुपर्छ,’ उनले भने ।
इलाम २ उपनिर्वाचनका लागि एमालेबाट उम्मेदवार बनेका सुहाङले २०७८ मा मात्र इलाम नगर कमिटीबाट एमालेको सदस्यता लिएका थिए भने हालसम्म मतदानको प्रयोग गर्ने अवसर पाएका छैनन् । ३० वर्षसम्म उनैका बुबालाई निर्वाचन जिताउन लागेका नेतालाई पछिपार्दै टिकट लिएका सुहाङले संभवत यसैपाली पहिलो पटक मताधिकार प्रयोग गर्दैछन् । आफैं उम्मेदवार बनेर पहिलो पटक मताधिकार प्रयोग गर्न पाउने पहिलो नेता संभवत उनै हुनेछन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३