सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन नभएसम्म संसद् सञ्चालन हुन नदिने अडान लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल थालेका छन् ।
कांग्रेसले संसद्मा सरकारको नीति तथा कार्यक्रम नै प्रस्तुत गर्न नदिने अडान लिएपछि प्रधानमन्त्री दाहालले आइतबार बिहानै कांग्रेससँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि केहीबेर अघि कांग्रेस नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
भेटका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कांग्रेस राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन् ।
गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको विषयमा आरोप लागेपनि प्रधानमन्त्री, सत्ता गठबन्धन र राज्यका संरचनाहरु लागेर लामिछानेलाई चोख्याउने प्रयास भएको भन्दै कांग्रेसले संसदीय छानविन समितिको माग गर्दै आएको छ । तर छानविन समिति बनेपछि पदबाट राजीनामा दिनुपर्ने भयले रास्वपाका सभापति समेत रहेका गृहमन्त्री लामिछाने भने त्यसलाई जसरी पनि टार्ने जोडबलमा छन् ।
कांग्रेसले यसअघि शुक्रबारको बैठकमा संसदीय छानविन समिति नबनाएसम्म सदन चल्न नदिने अडान प्रस्तुत गरेको थियो । सरकारले जेठ १ गते अर्थात् आगामी मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । तर कांग्रेसले भने संसदीय छानविन समिति नबने नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्न नदिने अडान अघि सारेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३