चीनले पाकिस्तानलाई अत्याधुनिक युद्धपोतहरु उपलब्ध गराएको छ । जसले गर्दा अमेरिकाले साथ छोड्दै गरेको पाकिस्तान सैन्य शक्तिमा थप मजबुत बनेको छ भने अमेरिका र भारतलाई यो घटना टाउको दुखाइको विषय बनेको छ ।
आतकंबाद विरुद्धको युद्ध सहायताकारुपमा अमेरिकाले पाकिस्तानलाई प्रदान गर्दै आएको आर्थिक एवम् सैन्य सहायता सन् २०१८ देखि अमेरिकाले बन्द गरेपछि पाकिस्तान केही दबाबमा परेको थियो । त्यसयता पश्चिमी राष्ट्रहरूसँगको गठबन्धनलाई तोड्दै पाकिस्तान चीन तर्फ ढल्कियो ।
जसको परिणामस्वरूप अहिले पाकिस्तानले चिनियाँ सहायताकारुपमा अत्याधुनिक युद्धपोतहरु प्राप्त गरेको छ । त्यसो त चीनसँगको आर्थिक कूटनीतिलाई पाकिस्तानले निकै अघिदेखि नै प्राथमिकतामा राखेको थियो । चीन, पाकिस्तान विशेष आर्थिक कोरिडोरको निमार्णदेखि सामरिक दृष्टिकोणले समेत अत्यन्तै महत्त्वपूर्ण गदवार पोर्टसम्मको निर्माणमा पाकिस्तानले चीनसँग विशेष सहकार्य गरिरहेको छ ।
यो विषय भारत र अमेरिका दुबैका लागि निकै ठुलो चिन्ताको विषय बनेको छ । चीनसँगको स्थल मार्ग निर्माण गर्ने क्रममा पाकिस्तानले विवादास्पद क्षेत्रलाईसमेत प्रयोग गरेको भन्ने आरोपका साथ भारत आर्थिक कोरिडोर निर्माणको कार्यमा सुरुदेखि नै अड्चन उत्पन्न गराउने प्रयत्नमा छ ।
तर, अहिले चीन पाकिस्तान सम्बन्ध थप एक कदम माथि उठेपछि पाकिस्तानले चीनबाट सैन्य जहाज, हतियार र उच्च स्तरीय प्रविधिसहितको युद्धपोत प्राप्त गरेको हो ।
भ्वाइस अफ अमेरिकाले यससम्बन्धी आफ्नो रिपोर्टमा उल्लेख गरेअनुसार गत आइतबार चीनले पाकिस्तानका लागि निर्माण गरेको सुविधा सम्पन्न र उच्च प्रविधियुक्त युद्धपोत आधिकारिकरुपमा सार्वजनिक गरेको हो । यो सार्वजनिक समारोह त्यस बेला आयोजना गरिएको छ जुन बेला भारत चीन सम्बन्ध अत्यन्त नाजुक अवस्थामा पुगेको छ ।
अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञहरूले के टिप्पणी गरेका छन् भने भारत जन्मजात शत्रु पाकिस्तानलाई यस प्रकारको युद्धपोत उपलब्ध गराएर चीनले प्रत्यक्षरुपमा भारतलाई र अप्रत्यक्षरुपमा अमेरिकालाई समेत तनावपूर्ण स्थितिमा पुर्याइदिएको छ ।
इन्डोप्यासिफिक रणनीतिका नाममा हिन्द महासागरमा आफ्नो उपस्थिति बलियो बनाउने र त्यो क्षेत्रमा हुने आर्थिक तथा सैन्य गतिविधिलाई नियन्त्रण गर्ने अमेरिकी योजनालाई चीनले पाकिस्तान तर्फ पठाएको युद्धपोत लगायतका सैन्य सामाग्रीहरूले अफ्ठेरोमा पारेको छ । त्यति मात्र होइन चिनियाँ युद्धपोतमा धेरै प्रकारका जासुसी उपकरण देखि अत्याधुनिक सेन्सर प्रविधि समेत जडान गरिएको भन्ने खबरले अब हिन्द महासागरमा हुने हरेक गतिविधिलाई चीनले नियाली रहन पाउने अवस्था निर्माण बनेको देखिन्छ ।
सञ्चारमाध्यमहरूमा उल्लेख भएअनुसार चीनको साङघाइमा पाकिस्तानी जल सेनाका लागि निर्माण गरिएको टाइप—०५४ फ्रिगेट नामक युद्धपोत सार्वजनिक गर्न आयोजित समारोहमा पाकिस्तानी जल सेनाका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
अमेरिकी सञ्चारमाध्यम भ्वाइस अफ अमेरिकाले अनुमान गरेअनुसार पाकिस्तानले प्राप्त गरेको एउटा युद्धपोतको मूल्य ३५० मिलियन डलर पर्छ । पाकिस्तानले चीनबाट जम्मा ४ वटा यस्ता युद्धपोत प्राप्त गर्ने सम्झौता भएअनुसार सन २०२१ सम्ममा अरु ३ वटा युद्धपोत चीनले हस्तान्तरण गरिसक्नेछ । एजेन्सी
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७