थम्मन थापा, बागलुङ – गलकोट समाज जापान, क्षेत्रीय समिति नागोयाले गलकोट नगरपालिका–७ मल्म स्थित सिरबारे प्राथमिक विद्यालयलाई रु. ५० हजार आर्थिक सहयोग गरेको छ ।
अक्षयकोषका रुपमा रहने गरी आर्थिक सहायता प्रदान गरिएको समितिका अध्यक्ष रामु थापा काजीले बताए । समितिका पदाधिकारी, सदस्य र शुभेच्छुकबाट उक्त रकम जुटाइएको थियो । समितिको बैठकले कोरोनाका कारण तीज पर्वमा दर खुवाउने लगायतका औपचारिक कार्यक्रम गर्न नसकिएपनि महिला/बालबालिकाका क्षेत्रमा सहयोग गर्ने निर्णय गरेको थियो । “शैक्षिक विकासमा सानो भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नै गाउँको विद्यालयलाई रोज्यौँ”, अध्यक्ष थापाले भने । सो विद्यालयमा दलित समुदायका बालबालिका मात्र अध्ययनरत छन् । विसं २०५३ सालमा स्थापना भएको विद्यालय नजिक दलित समुदायको बाहुल्य बस्ती छ । विद्यालयको आर्थिक स्थिति पनि कमजोर छ । विद्यालयलाई पहिलोपटक अक्षयकोषका रुपमा सहयोग आएको प्रधानाध्यापक कल्पना गौतमले बताइन् ।
अक्षयकोषको ब्याजबाट वर्षेनी उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत/सम्मान गर्ने योजना तय गरिएको सिरबारे प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल दर्जीले बताए । कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले १८ छात्रा र १३ जना छात्र छन् । विद्यालयमा स्थायी र राहत गरी दुई शिक्षकको दरबन्दी रहेको अध्यक्ष दर्जीले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३