‘नेपालमा नसर्ने रोगको अवस्था भयावह बन्दै गयो’
- रासस

काठमाडौं – नेपालमा नसर्ने रोगको अवस्था भयावह बन्दै गएको विज्ञहरुको निष्कर्ष छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित ‘लाइफ एण्ड हेल्थ साइन्स’ विषयक कार्यक्रममा विज्ञहरुको छलफलबाट नेपालमा नसर्ने रोगको अवस्था निकै चुनौतीपूर्ण रहेको निष्कर्ष निक्लिएको छ ।

कार्यक्रममा डा.अभिनभ वैद्यले मधुमेह, मुटुरोग, उच्च रक्तचाप, क्यान्सर, हृदयाघात, मष्तिस्काघात, अम्लपित्त, मिर्गौला खराबी, दम, माइग्रेन, डिप्रशन, मोटोपना आदि नसर्ने रोगहरुले नेपालमा भयावह अवस्था लिँदै गएको उल्लेख गरे ।  यी रोगबाट ४० वर्षभन्दा मुनि उमेरका युवावर्ग बढी प्रभावित भएको बताउँदै उनले यी रोगबाट बच्न सोच्नुपर्ने बेला आएको उल्लेख गरे । चालिस वर्षभन्दा कम उमेरका ३७ दशमलव ९ प्रतिशत युवा नसर्ने रोगबाट नप्रभावित बनेको डा.अभिनभ वैधले जानकारी दिए ।

डा.सरोज निरौलाले विश्वमा वार्षिक १० लाख मानिसले क्यान्सरका कारण ज्यान गुमाउने गरेको बताए । क्यान्सरबाट ज्यान गुमाउनेमा ७० प्रतिशत निम्न तथा मध्यम आय भएका मुलुकका मानिस रहेको उनले उल्लेख गरे । नेपालमा पनि क्यान्सरका रोगी बढ्दै गएको बताउँदै उनले नसर्ने रोग क्यान्सरबाट बचाउन जीवनशैली तथा खानपानमा ध्यान दिनुपर्ने उल्लेख गरे । धुलोधुँवा, विकिरण रसायनको प्रयोग, विषाक्त खानेकुराले क्यान्सरको जोखिम बढेको बताउँदै स्वस्थ जीवनशैली नै क्यान्सरसँग लड्ने पहिलो आधार भएको उनले उल्लेख गरे ।

मानसिक स्वास्थ्यको विषय महामारीभन्दा अगाडिदेखि नै उठेको बताउँदै उनले कोरोना महामारीका कारण थप यसको जटिलता बढेको उल्लेख गरे ।  उनले नेपालले कोरोना महामारीका कारण रोजगारी गुमाउदा, लामो  समयसम्मको बेरोजरीका कारण कमजोर आर्थिक अवस्था तथा अभावका कारण अधिकांशको मानसिक स्वास्थ्यमा असर परेको बताए । मानसिक समस्याकै कारण मानिस आत्महत्या गर्ने अवस्थासम्म पुग्ने गरेको बताउँदै उनले पुरुषको तुलनामा ठूलो सङ्ख्यामा महिलाले आत्महत्या गर्ने उल्लेख गरे ।

उनका अनुसार पैंतालीस प्रतिशतसम्म महिलाले आत्महत्या गर्ने प्रवृत्ति देखिएको छ । मानसिक समस्याबाट बच्नका लागि सकारात्मक सोच, स्वस्थ जीवनशैलीमा ध्यान दिनुपर्ने उनको भनाइ छ । डा.कृष्णबहादुर थापाले बालबालिकामा जन्मजात देखिने डिस्लेक्सियाको प्रभाव बढ्दै गएको बताए ।

विश्वमा विद्यालय जाने अवस्थाका तीन देखि १९ प्रतिशत बालबालिकामा यस्तो समस्या रहने अध्ययनले देखाएको बताउँदै नेपालको सन्दर्भमा पनि बालबालिकामा यस्तो समस्या बढ्दै गएको उनले जानकारी दिए । सचेतनाको अभावले नेपालमा यस्तो रोग लागेका बच्चाका लागि छुट्टै शिक्षा प्रणालीको व्यवस्था गर्न नसकिएको उनको भनाइ थियो ।

‘‘डिस्लेक्सिया भएका बच्चा अरु सामान्य बच्चाभन्दा फरक हुन्छन् । उनीहरु शुद्ध उच्चारण गर्न नसक्ने तथा एकदमै ढिला अध्ययन गर्ने हुन्छन् । दायाँबायाँ ट्याउन नसक्ने हुँदा उनीहरु स्मल बी र डीलाई एउटै देख्छन् । जसले पनि अध्ययनमा अप्ठ्यारो हुन्छ’’, उनले भने । यस्ता बालबालिकाको अवस्था अनुसार पेडागोजी तयार गरी सोहीअनुसार डिस्लेक्सिया भएका बालबालिकालाई सिकाइ प्रणाली लागू गर्न राज्यले पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

प्राडा. अञ्जना सिंहले नेपालमा डेङ्गु भाइरसको प्रभावका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । डेङ्गु एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट लाग्ने उनले बताइन् । नेपालमा २००४ सालमा डेङ्गु देखिएको बताउँदै उनले नेपालमा डेङ्गु सङ्क्रमण बढ्दै गएको उल्लेख गरे ।  ‘‘डेङ्गु एउटा मानिसबाट अर्को मानिसमा सर्दैन र यो तब मात्र सर्छ जब एउटा लामखुट्टेली सङ्क्रमित मानिसलाई टोक्छ र त्यो लामखुट्टेमा भाइरस विकास भएर  त्यो लामखुट्टेले अर्को स्वस्थ मासिलाई टोक्छ’’ उनले भनिन् ।

पूर्व स्वास्थ्य सचिव डा.सुधा शर्माले एनआरएनएले यो महामारीको समयमा आयोजना गरेको लाइफ एण्ड हेल्थ साइन्स विषयक कार्यक्रम निकै महत्वपूर्ण भएको बताइन् । उनले नेपालमा अर्टिजम डिस्लेक्सियालगायत मानसिक रोग, मुटु रोग, क्यान्सर, डेङ्गुलगायत नसर्ने रोगको जोखिम बढ्दै गएको बताउँदै न्यूनीकरणका लागि राज्यसँगै सम्पूर्ण सरोकारवालाको सहकार्य आवश्यकता भएको औँल्याइन् । डा.कृष्ण काफ्लेले नेपालको मध्यपहाड मानव, वन्यजन्तुबीचको द्वन्द्व क्षेत्रदेखि जुनोटिक रोगहरुको उच्च जोखिम क्षेत्र बन्दासम्मको परिवर्तन विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार