दुई महिनाअघि कालिकोटमा भएको बलात्कारको घटना दुई लाख रुपैयाँमा मिलाइएको छ । पीडित किशोरीले बयान फेरेपछि बलात्कारका आरोपी जिल्ला अदालतको आदेशमा छुटेका छन् ।
सान्नी त्रिवेणी गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २५ साउनमा सोही गाउँपालिका–५ रिस्कोटका २८ वर्षीय जनकबहादुर बम पक्राउ परेका थिए । पीडित किशोरीले आफूलाई सान्नी त्रिवेणी गाउँपालिका–३ स्थित एक घरमा बन्धक बनाएर बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
उनले २५ साउनमा जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा प्रहरीले जनकलाई पक्राउ गरेको थियो । जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि उनी पुर्पक्षका लागि थुनामा रहेका थिए । पैसाको लोभमा पीडितले बयान फेरेपछि आरोपी छुटेको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले बताए । ‘सबै प्रमाण जुटाएर मुद्दा दर्ता गरियो । तर, पीडितले बयान फेरिपछि बलात्कार दोषीले उन्मुक्ति पाए,’ डिएसपी शर्माले भने ।
डिएसपी शर्माका अनुसार बलात्कारका आरोपी जनकको परिवारले पीडित परिवारलाई पैसा दिएपछि बयान फेरिएको हो । ‘जनकको परिवारले पीडित किशोरीको परिवारलाई दुई लाख रुपैयाँ दिएको रहेछ । त्यसकै आधारमा अदालतमा बयान फेरिएको जानकारी पाएका छौँ,’ डिएसपी शर्माले भने । १२ असोजमा अदालतले रिहा गर्न आदेश दिएपछि जनक छुटेका छन् ।
अधिकारकर्मीले दबाब दिएर मिल्न लगाएको आरोप लगाएका छन् । पीडित दलित परिवारलाई गाउँमा अप्ठ्यारो हुने अवस्था सिर्जना गरेपछि मिल्न बाध्य भएको अधिकारकर्मीको भनाइ छ ।
डिएनए रिपोर्ट नआउँदै रिहा
कालिकोट प्रहरीले पीडित किशोरीको भेजिन स्वाब र जनकको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा नमुना पठाएको छ । त्यसको रिपोर्ट आउन बाँकी रहेको डिएसपी शर्माले बताए । त्यो रिपोर्ट नआउँदासम्म दोषीलाई रिहा गर्न नहुने सरकारी वकिलको जिकिर थियो । तर, पीडितको बयानका आधारमा अदालतले रिहा गर्न आदेश दिएको हो ।
उच्च अदालत जान सकिने
जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गुहार्न सकिने जिल्ला बार एसोसिएनका अध्यक्ष हिक्मतबहादुर विष्टले बताए । ‘उच्च अदालत जान सक्ने आधार छन्,’ विष्टले भने । पीडितले नै बयान फेरेका कारण जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत जाने–नजाने यकिन गर्न सकेको छैन ।
पैसा लिएको छैन : पीडितका बुबा
पीडित किशोरीका बुबाले जनक परिवारबाट पैसा नलिएको बताए । उनले भने, ‘एकै गाउँमा बस्नु छ, मुद्दामामिला गरेर कसरी बस्नु ?’ पुरानो रिसका आधारमा बलात्कार आरोप लगाएको उनको भनाइ छ । ‘पुरानो रिस थियो, त्यसैले बलात्कार गरेको भनेर उजुरी दिएको थिएँ । त्यस्तो केही भएको थिएन,’ उनले भने । किशोरीका बुबाले नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३