कसैलाई मागेर खानुपर्ने अवस्था आए महानगरले व्यवस्थापन गर्ने : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई सुरक्षित स्थानमा राखेर खाना खुवाउने व्यवस्था महानगरपालिकाले गर्ने बताएका छन् ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मेयर शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाएको विषय सबैको सरोकार भित्र परेको भन्दै त्यसलाई व्यवस्थित गर्ने पनि बताए ।  कसैलाई पनि मागेर खानुपर्ने अवस्था आएमा त्यसको व्यवस्थापन महानगरले गर्ने उल्लेख गर्दै उनले खुलामञ्चको निःशुल्क खाना खुवाउने अभियानलाई पनि व्यवस्थापन गर्ने बताएका हुन् ।

अहिलेको अवस्थामा एक अर्कालाई दोषारोपण गर्नुभन्दा सबै मिलेर अगाडि बढ्नुपर्ने दायित्व भएको पनि उनले बताए ।  खुलामञ्चमा अहिले आधा दर्जन संघ संस्थाहरुले खाना खुवाइरहेको आफ्नो जानकारी आएको उल्लेख गर्दै उनले भोजनको व्यवस्था गरिरहेका संघ–संस्था र व्यक्तिलाई उनीहरु र खाना खानेलाई पनि पायक पर्ने गरी फरक–फरक ठाउँमा बन्द स्थानको छनोट गर्न आग्रह गरिएको बताए ।

उनले भने, ‘‘उहाँहरुलाई खाना खानेलाई पायक पर्ने गरी फरक–फरक ठाउँमा बन्द स्थानको छनोट गर्नुहोस् भनेका छौँ । हामी ती ठाउँको भाडा तिर्न तयार छौँ । त्यति मात्र होइन । खाना खुवाउन आर्थिक अभाव भयो भने हामी खाद्यन्नको समेत व्यवस्थापन गर्न तयार छौँ । तर, यस्तो कोरोना कहरका बेला स्वास्थ्य मापदण्डको समेत ख्याल गरी खुला ठाउँमा खाना खुवाउनु हुन्न भन्ने हाम्रो चाहना हो ।’’ मेयर शाक्यले खाना खुवाउनकै लागि आर्थिक सहयोग र चन्दा माग्नुपर्ने आवश्यकता नरहेको भन्दै उनले सहयोग गर्न महानगर तयार रहेको पनि बताए । श्रम गरी खानेहरुका लागि कुनै समस्या नभएको भन्दै श्रम गरी खानेहरुलाई प्रोत्साहन गर्न सबैसँग आग्रह गरे ।

उनले खुलामञ्चमा गएर आर्थिक सहयोग गर्ने सांसदहरु तर्फ संकेत गर्दै महानगरपालिकालाई असहयोग गर्ने गरी गरेको प्रचारले समस्या समाधान नहुने भएकाले सबै मिलेर उपाय खोज्नुपर्ने बताए ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा पाँच हजार बेडको आइसोलेन वेड निर्माण गर्ने भनेको स्मरण गराउँदै कतिपय अवस्थमा महानगरपालिकाले नै निर्माण गर्ने भनी समाचार आएको र त्यसमा केही भ्रम पर्न गएको बताए । महानगरपालिकालाई आर्थिक अभाव रहेकोले आवश्यक समन्वय भए जटिल समस्याहरुलाई समाधान गर्न आफूहरु रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार