काठमाडौँ – कोरोना महामारी सुरू भएर नेपालमा पनि प्रभाव देखिन थालेपछि सबभन्दा पहिला पर्यटन क्षेत्रका उद्योग-व्यवसाय प्रभावित भए। होटल, ट्रेकिङ कम्पनी, एयरलाइन्सको व्यापार सुरूमै ओरालो लागेको थियो। लकडाउन हुनुअगाडि नै ओरालो लागेका यस्ता व्यवसाय अझै पनि सामान्य भएका छैनन्।
आन्तरिक हवाइ उडान भने कोरोनाअघिकै अवस्थामा पुग्न थालेका संकेत देखिन थालेको छ। दैनिक रूपमा विमानस्थल टर्मिनलमा देखिने यात्रुको भिडभाडले पनि त्यसको संकेत गर्छ। कोरोना महामारी सुरू भएयता बुद्ध एयरले गत साता एउटा जहाज नै थपेको छ।
कुनै पनि एयरलाइन्सले जहाज थप्नु भनेको बजारमा यात्रु संख्या बढेर धेरै उडान गर्ने आवश्यकता परेपछि हो। बुद्ध एयरको क्षमता विस्तारले आन्तरिक हवाइ क्षेत्र महामारीअघिकै अवस्थामा पुगेको संकेत देखिएको छ।
हिउँदको असर छाड्ने हो भने यात्रु संख्या बढेको र त्यसलाई थेग्न थप उडान गर्नुपरेकाले जहाज थपिएएको बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए।
‘हामीले चैत ११ गतेको भन्दा बढी उडान पनि गरेका छौं। यही माग धान्न जहाज थप गरेका हौं,’ बस्नेतले भने, ‘कोरोना सुरू भएपछिको सबभन्दा सुरक्षित यात्रा हवाइ भएकाले यात्रुको आकर्षण बढ्दै गएको हाम्रो बुझाइ छ।’
नेपालको सबभन्दा ठूलो एयरलाइन्स बुद्धले उडान संख्या कोरोनाअघि भन्दा पनि बढाइसकेको छ। बुद्धसँगै अरू एयरलाइन्सले उडान संख्या बढाउँदै गएका छन्।
हवाइ यात्राप्रति नागरिकको विश्वास र सस्तो भाडाका कारण यात्रु संख्या पर्याप्त देखिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाको भनाइ छ।
‘जहाजको यात्रा बसभन्दा सुरक्षित हुन्छ भन्ने एउटा सन्देश भयो। अर्को कुरा भाडा पनि नियमितभन्दा सस्तो छ। त्यही कारण यात्रु संख्या सामान्य अवस्थाको तुलनामा घट्न पाएको छैन,’ बर्तौलाले भने।
विदेशी यात्रुबिनै आन्तरिक उडान चलायमान
दस वर्षपहिलेको अवस्था भए, आजका मितिसम्म एयरलाइन्स सीमित क्षमतामा मात्र सञ्चालन हुन्थे। विदेशी यात्रुका भरमा चलिरहेका कतिपय एयरलाइन्स त टाट उल्टिने अवस्था पनि आउँथ्यो।
तर अहिले त्यस्तो अवस्था छैन। गत एक वर्षदेखि खासै विदेशी पर्यटक नआए पनि एयरलाइन्सले अघिल्लो वर्षकै अनुपातमा यात्रु पाएका छन्। देशमा दस लाख बढी पर्यटक आएका वर्षजस्तै यात्रु पाउनु सकारात्मक संकेत भएको व्यवसायीहरूको भनाइ छ।
बुद्धका प्रबन्ध निर्देशक बस्नेतका अनुसार आफूहरू अहिले नेपाली यात्रुबाटै सञ्चालन मात्र होइन, विस्तार हुन पनि सम्भव देखिएको बताउँछन्। विदेशी यात्रु बोनसका रूपमा रहने उनको भनाइ छ।
‘हामी अहिले टिक्ने देखिएको छ। आन्तरिक उडानमा नेपालीको उल्लेख्य सहभागिता छ। हाम्रा लागि अब विदेशी यात्रु बोनसका रूपमा रहने भए,’ उनले भने।
अहिलेको मौसमी कारण नभएको भए दैनिक ६ हजार यात्रुलाई बुद्ध एयर एक्लैले सेवा दिने अवस्था रहेको उनको भनाइ छ। कोरोनाअघि पनि बुद्धले दैनिक पाँच हजार आसपासमा यात्रु बोकिरहेको थियो।
जहाजमा यात्रा गर्ने नेपाली संख्या बढेकै कारण एयरलाइन्स विस्तारै कोरोनाअघिको क्षमतामा पुग्दैछन्। यात्रु बढ्नुमा व्यवसायीको बुझाइ भने सस्तो टिकट रहेको छ।
आन्तरिक उडान खुलेसँगै एयरलाइन्सलाई एउटा दबाब थियो- यात्रु आउँछन् कि आउँदैनन्? त्यसैले उनीहरूले सस्तो भाडादर दिए। यस्तो भाडा कि कतिपय गन्तव्यमा डिलक्स बसकोजस्तै हुन आयो।
‘यात्रुको संख्या राम्रै देखिएको छ। विदेशी नआउँदा पनि अहिले जति यात्रु देखिएको छ, यो बृद्धि नै हो। यसको एउटै कारण सस्तो भाडा हो,’ श्री एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले भने, ‘कतिपय गन्तव्यमा बसको जत्तिकै छ। समय पनि उस्तै र कोरोनाका कारण छिटो यात्रा गर्ने रूचिका कारण पनि यात्रु बढेका हुन्।’
कोरोनाका कारण बसका यात्रु जहाजमा सरे-नसरेको कुरा ठोकुवा गर्न अहिले नै समय पर्याप्त छैन। सामान्य अवस्था भएपछि यकिन हुनेछ। यतीका प्रवक्ता बर्तौला पनि लकडाउनपछि खुलेको उडानमा यात्रु संख्या बढ्दै गएको र कतिय अवस्थामा कोरोनाअघि भन्दा राम्रो देखिएको बताउँछन्।
बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेत भने पछिल्ला केही वर्षदेखि हवाइयात्रा गर्ने मध्यम वर्गको संख्या बढ्दै गएको बताउँछन्।
‘मुख्य कारण सस्तो भाडा हो नै। कोरोनाअघि पनि प्रतिस्पर्धी भाडाकै कारण धेरैजसो मध्यम वर्गले हवाइयात्रा रोज्न थालेका थिए। कोरोनापछि झन् सस्तो भाडाले त्यो संख्या अझै बढेको हो,’ उनले भने।
बस्नेतका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्य घटेको र एयरलाइन्सको पनि अन्य प्रशासनिक खर्च कम भएकाले भाडा सस्तो भएको छ।
यात्रु बढे तर आम्दानी?
लकडाउनपछि खुलेको उडानमा एयरलाइन्सका दैनिक कुल उपलब्ध सिटमध्ये ८० प्रतिशतसम्म भरिए। अहिलेको मौसमी अवरोध छाड्दा कुल सिटमा ९० प्रतिशतभन्दा बढी यात्रु भरिने यतीका प्रवक्ता बर्तौलाको भनाइ छ।
यात्रु संख्या हिसाबले हेर्दा एयरलाइन्सको व्यापार कोरोनाअघि नै पुगिसक्यो। तर के आम्दानी पनि त्यहीअनुसार भएको छ?
बर्तौला आम्दानी त ७० प्रतिशत घटेको बताउँछन्।
उनका अनुसार विदेशी पर्यटक नेपाल आउँदा पोखरा तथा भैरहवा रूटमा डलरमा भाडा तिर्थे। जसको दर नेपालीको तुलनामा महँगो हुन्थ्यो। नेपाली यात्रुको आम्दानीबाट सञ्चालन खर्च धाने पनि विदेशीको आम्दानी नाफा हुन्थ्यो। तर यसपालि खर्च धान्नै धौधौ भएको उनको भनाइ छ।
बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेत भने नेपाली यात्रु संख्या बढेअनुसार आम्दानी नबढेको तर भविष्यमा राम्रो प्रतिफल दिने विश्वास व्यक्त गर्छन्।
‘आजभन्दा दस वर्ष पहिले विदेशी यात्रुबिनाको एयरलाइन्स बिजनेस त्यति राम्रो मानिँदैन थियो। अहिले नेपाली यात्रुकै कारणले चल्ने अवस्थामा पुगेको छ। यो व्यावसायिक दीगोपनका लागि सकारात्मक हो,’ बस्नेतले भने।
सुगम क्षेत्रमा उडान गर्ने एयरलाइन्सका लागि नेपाली यात्रुकै आम्दानीबाट सञ्चालनमा कठिनाइ देखिँदैन। दुर्गम उडान गर्नेका लागि भने विदेशी पर्यटक नआइ नाफा सोच्नै नसकिने व्यवसायीहरूको भनाइ छ। समिट एयरका सञ्चालक विकास राणा दुर्गममा नेपाली मात्र उडाएर नाफा नहुने बताउँछन्।
‘धेरै यात्रु बोक्ने ठूला जहाज र दुर्गममा उडान गर्ने साना जहाजको सञ्चालन खर्च उस्तै हो। तर साना जहाजमा थोरै यात्रु अटाउँछन्। यस्तोमा नेपालीका लागि भाडा पनि थोरै हुन्छ। हाम्रो नाफा भनेकै विदेशी यात्रु आएपछि हो। जुन अहिले छैनन्,’ राणाले भने।
फिस्टेल हेलिकप्टरका समेत सञ्चालक रहेका राणाकाअनुसार दुर्गममा उडान गर्ने एयरलाइन्सको अवस्थामा कुनै सुधार भएको छैन।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३