काठमाडौं- नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गतको वुमेन्स एन्ड स्पोर्टस कमिसनले अन्तर्राष्ट्रिय महिला दिवसको शुभ अवसरमा सोमबार विमला जोशी अमात्य र भवानी अधिकारी पोख्रेललाई सम्मान गरेको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ रहेका थिए भने कार्यक्रमको सभापति नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एंव वुमेन्स एन्ड स्पोर्टस कमिसनका अध्यक्ष ज्योति राणा रहेकी थिइन् ।
नेपाली खेलकुदमा पुर्याएको योगदानका लागि उनीहरूलाई सम्मान गरिएको हो । एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले १ सय ११ औं महिला दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा सम्मान गरे ।
सम्मानसंगै २५ हजार रुपैंया पनि प्रदान गरिएको थियो । विमला एथलेटिक्सकी पूर्व खेलाडी हुन् र उनी एक दशक भन्दा बढी समय मध्यम दूरीको दौडमा सक्रिय रहिन् । उनले सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा तीन हजार मिटर दौडमा कांस्य पदक जितेकी थिइन् ।
अधिकारीलाई भने कर्मचारी प्रशासनतर्फबाट सम्मान गरिएको हो । उनी तीन दशकदेखि राष्ट्रिय खेलकुद परिषदको कर्मचारीका रूपमा कार्यरत छिन् । कमिसनले यसअघि प्रत्येक दुई दुई वर्षमा प्रदान गर्दै आएको यो सम्मान अबदेखि प्रत्येक वर्ष प्रदान गर्ने निणर्य पनि गरेको छ । कमिसनले सन् २०१२ देखि महिला दिवसका रूपमा सम्मान गर्न सुरु गरेको हो ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको नेतृत्वमा अझै पनि महिला पछाडि रहेको बताउदै यो क्षेत्र अझ महिला मैत्री हुनु पर्नेमा जोड दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७