काठमाडौँ – महोत्तरीका ४० वर्षीय अरूणकुमार चौधरी काठमाडौं बागबजारमा ज्योतिद्विप नामक एजुकेसन कन्सल्टेन्सी चलाउँथे।
उनले यो कन्सल्टेन्सी सन् २००६ देखि चलाइरहेका छन्।
पुतलीसडक बस्ने उनी आफ्नो कन्सल्टेन्सीबाट निजी स्कुलमा विद्यार्थी पठाउने, कन्ट्याक्ट गराउने गर्थे। कहिलेकाहीँ नेपाल मेडिकल काउन्सिलका फारम भरिदिने गरेको पनि उनको स्वीकारोक्ति छ।
कमिसन लिएर निजी स्कुलमा विद्यार्थी पठाउने-सम्पर्क गराइदिने चौधरी एसएलसीको नक्कली सर्टिफिकेट बनाएको आरोपमा सोमबार पक्राउ परेका छन्।
त्यसरी उनको कन्सल्टेन्सीबाट एसएलसीको सर्टिफिकेटमा नम्बर सच्याएर बंगलादेश पुगेका भने डाक्टर भएर मात्रै आइसकेनन्, चार जनाले त नेपाल मेडिकल काउन्सिलबाट चिकित्सा पेशाको प्रमाण-पत्र पनि लिइसकेका छन्।
उनीहरू हुन् – २८ वर्षीय मोहम्मद सिद्धिक, २९ वर्षीय सुभासप्रसाद साह, २८ वर्षीय मोहम्मद साहिद राजा र ३१ वर्षीय दीपेन्द्र गौतम।
सिद्धिक विराटनगरस्थित न्युरो अस्पताल, साह जनकपुरस्थित चिल्ड्रेन अस्पताल, राजा दीर्घायु अस्पताल, चाबहिल र गौतम रूकुम पश्चिमको चौरझरी मिसन अस्पतालमा काम गर्थे।
प्रहरीका अनुसार उनीहरू नक्कली एसएलसी सर्टिफिकेट पेशेरै आइएस्सी पढे। आइएस्सीपछि एमबिबिएस पढ्न बंगलादेश गए। एसएलसी प्रमाण-पत्रबारे खुले पनि आइएस्सी प्रमाण-पत्र कहाँबाट लिए भन्ने यकिन गर्न प्रहरीले सकेको छैन।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७