काठमाडौँ – गोङ्गबुमा रहेकाे नयाँ बसपार्कमा घर जाने यात्रुको भीड बढेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमवार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो ।
अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमवारको निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमवार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज बिहानैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको हो ।
लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् । बझाङ जानका लागि टिकट काट्न सोमवार साँझ नयाँ बसपार्क पुगेका जयराज जोशीले टिकट नपाएको गुनासो गर्नुभयो । लामो दूरीका गाडी थोरै भएका कारण पनि नयाँ बसपार्कमा टिकट अभाव भएको हो । साथै, सरकारले निषेधाज्ञाकाे निर्णय गरेसँगै जहाजमा समेत टिकट पाउन मुस्किल भएकाे छ ।
नयाँ बसपार्कबाट अहिले देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । नयाँ बसपार्कमा दैनिक ८०० देखि एक हजार सार्वजनिक यातायात दैनिक ओहोरदोहोर गर्दै आएका छन् । काठमाण्डाै महानगरपालिकाको स्वामित्वमा रहेको १६१ रोपनी क्षेत्रफलमा निर्माण गरिएको नयाँ बसपार्कमा एक हजार ५०० भन्दा बढी सार्वजनिक गाडी पार्किङ गर्न मिल्ने ल्होत्से बहुउद्देश्यीय प्रालिले जनाएको छ ।
पछिल्लो समय नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय मापदण्डको बसपार्क निर्माणका लागि ल्होत्से बहुउद्देश्यीय प्रालि लागेको छ । प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि आफूले काम गरिरहेको बताउछन ।
नयाँ बसपार्कमा अहिले सञ्चालन भएका टिकट काउन्टरसमेत बन्द गरिएको छ । टिकट काउन्टरलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि वैशाख १ देखि नयाँ बसपार्कभित्रका सम्पूर्ण काउन्टर बन्द गरिएको अध्यक्ष कुँवरको भनाइ छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३