इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो । जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए ।
खेलको ३० औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । मार्को भेराट्टीको पासमा उनले दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे ।
त्यसअघि खेलको १३ औं मिनेटमा इटालीका लियोनार्दो बुनिचीको गोलले मान्यता पाएन । भीएआरबाट बुनिची अफसाइड देखिएका थिए । खेलको ४४ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए । उनले एकल प्रयासमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । जियोभानी लोरेन्जोले पेनाल्टी बक्स भित्र जेरीमी डोकुलाई लडाएपछि बेल्जियमले पेनाल्टीको अवसर पाएको थियो ।दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल इटालीले २-१ ले आफ्नो बनायो ।
अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगिसकेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३