चिलिया टप्पु (उदयपुर) – सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जनभन्दा बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरूलाई सताउने गरेको छ ।
स्थानीयवासी वर्षौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । कोसी सम्झौताअनुसार भारत सरकारले नदीको दुवैतर्फ तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको बताउँछन् सप्तकोसी नदीकै छेउमा घर र खेती भएका बराह क्षेत्र नगरपालिका– ६ का बाजाहाङ लिम्बू । ‘नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउन पनि सकिएको छैन,’ उनले भने । सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी धेरै मात्रामा जनधनको क्षति पु¥याउँदै आएको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रूपमा गर्दा सप्तकोसी किनाराका हजारौंँ बासिन्दालाई घरबारविहीन बनाइसकेको छ ।
अहिले पछिल्लो समय सप्तकोसीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान गर्दा बेलका नगरपालिका–२, ३, ८ र ९ उच्च जोखिममा परेको छ । सप्तकोसीले धार परिवर्तन गरी उदयपुरको बेलका नगरपालिका– ८ को लाहुरे खोचमा कटान गरी नदी पस्न लागेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्ष २५ सय परिवार उच्च जोखिममा परेका हुन् ।
सप्तकोसीमा पानीको बहाब बढेसँगै कटान तीव्र रूपमा बढेकाले त्यस क्षेत्रका बासिन्दा जोखिममा परेको हो । कोसीले ६ सय मिटर कटान गरिसकेको छ । करिब दुई सय मिटर कटान गर्दैछ । दुई सय मिटर कटान गरे भने त्यहाँ बसोबास गर्ने चार हजार घर परिवार विस्थापित हुनुका साथै ठूलो जनधनको क्षति हुने बराह क्षेत्र नगरपालिका– ६ का वडा सदस्य श्यामबहादुर लिम्बूले बताए । ‘रोकथाम गर्न नसके बेलका नगरपालिकाका– २, ३, ८, ९ बराहक्षेत्र नगरपालिका– ६ सहित सप्तरीको फत्तेपुर, कञ्चनरूप, भारहद, राजविराज हुँदै कुनैली नाका भएर नदी बग्ने छ,’ लिम्बूले भने ।
सप्तकोसी कटानले गर्दा बराह क्षेत्र नगरपालिका– ६ चिलिया टप्पुमा रहेको बालसेवा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, कौशिका आधारभूत बिद्यालय बेलका नगरपालिका– ३ तर्फ सरस्वती आधारभूत विद्यालयसहित दुई वटा स्वास्थ्य संस्था विस्थापित भइसकेको वडा सदस्य लिम्बूले बताए । त्यहाँ रहेको एकता, सिर्जना, एबिसी, गिनेरी, रामनगर, बुधवारे, चिलिया टप्पु विस्थापित हुने तयारीमा रहेको उनको भनाइ छ । सप्तकोसीको चारवटा भंगालो छ । पूर्वपट्टिको भगालोले राजाबास चक्रघट्टीतर्फ कटानलाई तीव्र बनाएको छ भने पश्चिमपट्टिको भगालोले उदयपुरतर्फको चिलिया टप्पुमा क्षति पुर्याएको छ । सबैभन्दा खतरा पश्चिम भगालो हो । यसले उदयपुर, सप्तरीको अधिकांश भागमा क्षति पुर्याउँछ ।
सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेपछि बराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीस्थित १० नम्बर नोज स्पर (बाँध) कटान गर्न थालेपछि स्थानीयवासी चिन्तित भएका हुन् । कोसीमा पानीको बहाव घटबढ हुने क्रम जारी रहेकाले कमजोर बनेको स्पर १० को मर्मत सम्भार कार्य तीव्र पारेको छ । निरन्तरको वर्षाका कारण नदीमा बढेको पानीको बहावले स्परको करिब ६० मिटर भाग कटान गरेपछि अस्थायी रूपमा मर्मत थालेको जनाएको छ ।
सो क्षेत्रमा कोसीले कटान गरेको भागमा मर्मत नहुँदा त्यहाका स्थानीय बासिन्दामा बाढीको त्रास बढेको हो । कोसीको पानीको सतह लगातार बढ्ने क्रममा रहेकाले कटान गरेका हुन् । कटान भएको ठाउँमा थप कटान रोक्न स्थानीयबासीले जिल्ला विपद व्यवस्थापन समिति उदयपुरसँग अनुरोध गरेको छ ।
कटान गरेको क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तह, निमित्त प्रमुख जिल्ला अधिकारी र स्थानीय सरोकारवालाहरूले आइतबार स्थलगत अनुगमन गरी कटान रोक्नमा निगरानी गरी तत्काल मर्मत गर्न प्रदेश सरकार, प्रदेश योजना आयोग र संघीय सरकारमा आग्रह गर्ने जिल्ला विपद व्यवस्थापन समिति उदयपुरबाट निर्णय गरी जानकारी गराएको बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले जानकारी दिए ।
निरन्तर परेको वर्षाका कारण सप्तकोशीले पश्चिमतर्फ धार परिवर्तन गर्दा बेलका नगरपालिकाका वडा नं २, ३, ८ र ९ उच्च जोखिममा परेको निमित्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताए । स्थलगत अनुगमनपछि आइतबार बेलका नगरपालिकाको सभा हलमा जिल्ला बिपद् व्यवस्थापन समिति उदयपुरको बैठक बसेको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको र बैठकले सप्तकोसीमा आएको उच्च बाढीले बेलका नगरपालिका–८ लाहुरेको खोच परियोजनाबाट कटान गर्दै नदिको धार तथा बहाव नगरको २, ३, ८ र ९ तथा सप्तरी जिल्लाका विभिन्न स्थानमा समेत जनधनको क्षतिलाई मध्यनजर गर्दै तत्कालै बाँध लगाउने, हेभी इकुमेन्ट प्रयोग गर्ने, सिँचाइ डिभिजनसँग सहकार्यमा लन्चिङ ड्याम, स्यान्ट रकिङ र तारजाली भरी कटानका सम्भावित क्षेत्रका स्थानीयलाई उद्धार तथा राहतको व्यवस्थापन गर्ने निर्णय भएको नगर प्रमुख दुर्गाकुमार थापाले बताए ।
कोसी कटानका कारण बेलका नगरपालिकामा र बराह क्षेत्र नगरपालिकाका गरी चार हजार घरपरिवार विस्थापित हुने खतरा छ । तत्कालीन व्यवस्थापनका लागि प्रदेश, संघ सरकार, प्रहरी, सेना तथा स्थानीयलाई अनुरोध गरिएकोसमेत उनले जानकारी दिए ।
१२ वर्षअघि १० नम्बर स्परबाट सप्तकोसी करिब ५÷६ सय मिटर पश्चिम भएर बग्ने गरेको थियो । तर यो वर्ष तिव्र पानीको बेगका कारणले बहाव पूर्वी किनारामा ठोक्किँदा कटान थालेको हो । बराह क्षेत्र नगरपालिकाको ११ वटा वडामध्ये वडा नं. ३, ४ र ५ बाहेक सबै वडा सप्तकोसी नदीको उच्च जोखिममा परेको छ ।
सुनसरीको भाण्टाबारी कोसी व्यारेजदेखि उत्तर बराह क्षेत्रसम्मका बाँध मर्मत सम्भार गर्ने र कटान नियन्त्रण गर्ने मुख्य दायित्व भने भारत सरकारको हो । कोसी ब्यारेज निर्माण गरेदेखिको सो सम्झौताअनुसार भारत सरकारले वर्षेनी कटान रोक्ने प्रयास गरे पनि पूर्णरूपमा सफल हुन नसक्दा नेपाली भूभाग वर्षेनी कटान र डुबानमा पर्दै आएको हो ।
कोशी तथा बक्राहा नदि नियन्त्रण आयोजना बिराटनगरका अनुसार कोशी सम्झौता अनुसार चतरा देखि ब्यारेज सम्म सप्तकोशीको दुवै किनारा भारत सरकारले तटबन्ध निर्माण गर्ने सम्झौता छ । कटान भएको बेला अस्थायी रूपमा भारत सरकारले मर्मत गर्दै आएको भएता पनि सम्झौता अनुसार भारत सरकारले तटबन्ध निर्माण नगरेका कारण यस्तो समस्या आएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३