काठमाडौं – काठमाडौं उपत्यकामा मास्क नलगाएका यात्रुलाई सार्वजनिक सवारीमा चढ्न रोक लगाउने निर्णय गरिएको छ । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो । स्थानीय प्रशासनले सार्वजनिक सवारी साधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न यातायात व्यवसायीहरुलाई निर्देशन दिएको छ ।
कोभिड–१९ संक्रमणको जोखिमका कारण प्रशासनले सार्वजनिक सवारी अनिवार्य रुपमा दैनिक सेनिटाइज गर्नुपर्ने निर्णय गरेको छ । चाडपर्वको बेला सवारी साधनको छतमा यात्रा गर्न प्रशासनले प्रतिबन्ध लगाएको छ । होटल, रेष्टुरेण्ट र सिनेमा हलमा सामाजिक दुरी कामय गर्नुपर्ने आदेश जारी गरिएको छ । कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको भन्दै प्रशासनले भिडभाड र जुलुस तथा भोज गर्न रोक लगाउने पुरानो निर्णयलाई निरन्तरता दिएको छ ।
दशैं, तिहार र छठ पर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर न्युनतम सहभागितामा चाडपर्व मनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । घरभित्र परिवारको सदस्यहरु मात्रै सहभागी भएर पर्व मनाउन आग्रह गर्दै जिल्ला प्रशासनले भनेको छ– ‘यात्रा गर्नुअघि अधिकारिक टिकट काउण्टरबाट टिकट काटेर मात्र यात्रा गर्नुहोला ।’
निषेधाज्ञालाई निरन्तरता दिँदै स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने निर्णय गरिएको छ । सार्वजनिक र निजी निर्माण कार्यको लागि आवश्यक निर्माण सामग्री बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म मात्र ढुवानी गर्न पाइने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३