काठमाडौँ – बागमती प्रदेशसभाको बैठक भोलि दिउँसो तीन बजे बस्ने भएको छ । बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी छ ।
बैठकमा भ्याएसम्म भोलि नै मुख्यमन्त्रीले विश्वासको मत लिने तर नभ्याए पर्सी विश्वासको मत लिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।
विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने र भागबण्डा मिलाउन केही मन्त्रालय फुटाउने मुख्यमन्त्री पाण्डेको तयारी छ । नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता पाण्डेले गएको कात्तिक ११ गते चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका हुन् ।
सभामुखसहित प्रदेशसभामा एक सय ९ मत रहेको छ । गठबन्धनमा रहेका दलहरूसँग ५९ मत रहेकाले पाण्डे नेतृत्वको सरकारले विश्वासको मत सहजै प्राप्त गर्ने देखिन्छ । मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ ।
विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभामा पत्र पठाइ सकिएको छ ।
मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका पाण्डेले प्रदेशका मन्त्रालय फुटाएर भागबण्डा मिलाउने प्रयास गरिरहेका हुन् ।
माओवादी र कांग्रेसले चार–चार मन्त्रालय र एक–एक राज्यमन्त्री मागेका छन् । पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल कँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाल मन्त्री बनेका छन् ।
प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाएर १२ पुर्याउने र चार जना राज्यमन्त्री पनि नियुक्त गर्ने गरी सरकार विस्तारको तयारीमा गठबन्धन जुटेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३