अन्टारियो क्यानाडा -नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि मुख्य प्रशिक्षकमा दोस्रो कार्यकाल सम्हाल्न जान लागेका पुबुदु देशनायकेलाई विदाइ गरिएको छ। नेप्लिज क्यानेडीयन क्रिकेट क्लब र एनआरएनए क्यानाडाले आयोजना गरेको विशेष कार्यक्रममा उनलाई विदाइ गरिएको हो।
टोरन्टोको ब्राम्पटनस्थित एभरेस्ट तेक्वान्दो क्लबमा आयोजित कार्यक्रममा उनको विदाइ गर्दै आगामी कार्यकाल सफलताको कामना पनि गरिएको थियो। एनआरएनए क्यानाडाका अध्यक्ष दिपक गौतम, पूर्वअध्यक्षद्वय गोपीकृष्ण काफ्ले र अनिल थापा, क्यानेडीयन नेप्लीज क्रिकेट क्लबका किरोज श्रेष्ठ, इमरान खानलगायतले शुभकामना व्यक्त गरेका थिए।
यसअघि पनि नेपाली टिमको मुख्य प्रशिक्षक रहिसकेका पुबुदु दोस्रो कार्यकालको जिम्मेवारी लिन डिसेम्बर २१ मा काठमाडौं जाँदै छन् टोरन्टोको स्कारब्रोमा पुबुदुको क्रिकेट एकेडेमी छ। त्यहाँ उनले नेपाली खेलाडी नरेश बुढाऐरलाई प्रशिक्षक राखेका छन्। विदाइ कार्यक्रममा उनले आगामी दिनमा पनि नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाएका थिए।
पुबुदुको कार्यकाल रहेसम्ममा नेपाली क्रिकेट टिमलाई मैत्रीपूर्ण खेलका लागि क्यानाडा ल्याउने व्यवस्था गर्न क्यानाडामा रहेका खेलाडी र खेलप्रेमीले आग्रह गरेका थिए। नेपाली टिम क्यानाडा आएर खेलमा सहभागी भएको हेर्ने इच्छा यहाँका नेपालीले व्यक्त गरेका हुन्।
यसका लागि पुबुदुले पहल गर्न आग्रह गरिएको किरोज श्रेष्ठले बताए। प्रशिक्षक पुबुदुले आफूले क्यानाडाका नेपालीको इच्छाअनुसारको व्यवस्था गर्ने सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका थिए। नेपाली क्रिकेटलाई अझ उचाइमा पुर्याउनका लागि आफूले पहिले पनि मेहनत गरेको र आगामी दिनमा अझ मेहनत गर्ने उनको भनाइ थियो।
क्यानले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा आवेदन माग्दा ६० जनाले इच्छा देखाएका थिए।क्यानले ५ जना प्रशिक्षकसँग लिएको अन्तर्वार्तापछि अन्तिम प्रतिस्पर्धामा पुवुदुसँगै भारतका मोन्टी देसाइको नाम चर्चामा थियो। तर पुवुदुलाई पुनः एकपटक मुख्य प्रशिक्षकको जिम्मेवारी दिने निर्णय भएसँगै क्यान र पुवुदुबीच दुई वर्षका लागि सम्झौता भएको थियो।
उनले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टिमको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन्। उनकै नेतृत्वमा नेपालले सन २०१४ को टि ट्वेन्टी विश्वकपमा शानादर डेब्यु गरेको थियो। पुवुदुकै प्रशिक्षणमा नेपाल डिभिजन फोरबाट उक्लिँदै एकदिवशीय विश्वकप छनोट सम्मको यात्रा गर्न सफल भयो। पुवुदुको पहिलो कार्यकालको अन्तिम समयतिर भने आन्तरिक विवादका कारण क्यान अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीको निलम्बनमा पर्यो। पुवुदु र तत्कालिन क्यान पदाधिकरीबीच राम्रो सम्बन्ध भएन। त्यसैले उनले नेपाल छाड्ने निर्णय गरेका थिए। त्यसपछि हृवाटमोरले मुख्य प्रशिक्षकको जिम्मेवारी पाए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३