काठमाडौँ – नेकपा एमालेका नेता डा. भीम बहादुर रावल र संघीय समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई बीच सामाजिक सञ्जाल टुईटरमा जुहारी चलेको छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर भट्टराई-रावल आरोप प्रत्यारोप चलेको हो ।
रावलले बाबुराम प्रधानमन्त्री भएकै बेला कसैसँग सल्लाह नै नगरी एमसीसीसँग पत्राचार गरी टोली गठन गरेको दाबी गरेपछि बाबुरामले रावलको पिएचडीमाथि नै प्रश्न उठाएका थिए ।
बाबुरामले लेखेका थिए, ‘यी कणले पीएचडी गरेको भनेर नाउॅको अगाडि ‘डा.’ पनि झुण्ड्याउॅछन् । विद्यावारिधि गर्दा कसैवारे कुनै दावी गरियो भने त्यसको श्रोत, मिति, स्थान खुलाउनुपर्छ। उनले दावी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहॉ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’
एमाले नेता भीम रावलले आफ्नो पीएचडी नक्कली नभएको भन्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नै पिएचडी नक्कली हुन सक्ने जवाफ दिएका छन् ।
त्यसको जवाफ दिँदै मंगलबार रावलले लेखेका छन्, ‘बाबुरामजी प्रम हुँदा २०६८ मा चुपचाप एमसीसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु । त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्न सकिन्थ्यो तर जानकारीसम्म गराइएन। पीएचडी नक्कली सीमापारि हुने गरेको सधैं चर्चा हुन्छ, त्रिविविबाट पीएचडी कसैको नक्कली हुने चर्चा नै हुन्न।’
बाबुरामले भारतकाे जवाहारलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् भने रावलले त्रिभुवन विश्वविध्यालयबाट विद्यावारिधि गरेका हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७