काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई दिमागी समस्या रहेको दावी गरेका छन् । उनले ओलीको दिमागी असन्तुलनकै कारण आफ्नो पार्टी र गठबन्धनलाई अनेक लाञ्छना लगाएको नेपालले आरोप छ ।
उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले आजै गरेको पत्रकार सम्मेलनमा प्रयोग गरेको भाषाको पनि आलोचना गरे । उनले ओलीमा देश शक्तिको भावना नरहेको जिकिर गर्दै उनले दक्षिणपन्थको बाटो अँगालेको बताए ।
‘मुलुकभित्रका दलहरुबीच विवाद बिजारोपण गर्ने र जनतालाई समेत उत्तेजित पार्दै विभाजित गर्ने काम केपी नेतृत्वको सरकारबाट भयो । अतः राज्य सञ्चालनको जिम्मा पाएका केपी ओली जस्ता व्यक्तिहरुमा भएको व्यक्तिवादी, दम्भी, अहंकारी, आत्मसमर्पणवादी एवं षडयन्त्रकारी प्रवृत्तिले उत्पन्न गराएको जटिलता र संशयपूर्ण क्रियाकलापलाई अहिलेको गठबन्धनले उपयुक्त निकास दिनुपर्ने बाध्यात्मक अवस्था बन्यो,’ नेता नेपालले जारी गरेको विज्ञप्तिको तेस्रो बुँदामा उल्लेख छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले एमसीसीलाई आईपीएसमा सहभागी गराउने कार्यमा केपी ओलीको मुख्य भूमिका रहेको नेपालले आरोप पनि लगाए । उनले अमेरिकी विदेश विभागले सन् २०१९ मा जारी गरेको अ फ्री एन्ड ओपन इन्डो-प्यासिफिक प्रतिवेदनमा एमसीसीलाई आफ्नो हिस्साका रूपमा उल्लेख गर्दै नेपाललाई त्यसको सदस्य राष्ट्रको सूचीमा राखेको उल्लेख गरेका छन् । ‘तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमणमा तात्कालीन प्रधानमन्त्रीको अनुमतिमा एमसीसीमार्फत आईपीएसमा आबद्ध भएको भनेर विभिन्न सञ्चार माध्यमहरुमा आए पनि त्यसबारेमा नेपालका औपचारिक संस्थाहरुबाट कहींकतै विरोध वा निर्णय भएको देखिँदैन । विकास परियोजना भनेर ल्याइएको विषयलाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडाद्वारा सदनमा पुर्याउने काम भयो,’ नेपालले उल्लेख गरेका छन् ।
अध्यक्ष नेपालले ओलीलाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने नचिताउन पनि चेतावनी दिए । ‘केपी ओलीले सभामुख हटाउने नचिताए हुन्छ,’ उनले भने, ‘सभामुखमाथि केपी ओलीले धारे हात लगाउने । सदनको गरिमा राख्ने सभामुखलाई अपमानपूर्ण व्यवहार गर्ने । यो अभ्य अनसिभिलाइज्ड शैली हो ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७