११ साउन, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा केही समस्या आएको जनाउ दिँदै आफू नक्कली नभई अस्थायी बिरामी मात्र भएको बताएका छन् ।
राजधानीको बाँसबारीस्थित गंगालाल अस्पतालको नवनिर्मित ओपिडी भवन उद्घाटन समारोहमा स्वास्थ्यको कारण देखाएर एक घन्टा ढिलो पुगेका ओलीले आफू बिरामी भएको तर नक्कली नभई अस्थायी बिरामी भएको जिकिर गरे।
उनले बसेरै एक घन्टा लामो मन्तव्य दिएका थिए। ‘बिरामी भन्थ्यो, यत्रो लामो बोल्योे भन्नुहोला, मैले अघि नै भनिसकेँ नि म त अस्थायी बिरामी मात्र हुँ,’ मन्त्व्य टुंग्याउने क्रममा उनले भने।
कार्यक्रममा रोचक प्रसंग कोट्याउँदै ओलीले शुक्रबार राति आफ्नो बुद्घि बंगारा खुस्किएको बताए।‘हिजो राति सुतिरहेका बेला आफैं बुद्घिबंगारा खुस्केछ, न त दुख्यो, न त रगत आयो। मेरी हजुरआमा १०१ वर्षसम्म बाँच्नुभो, आफैं मकै चपाउनुहुन्थ्यो। म ६७ वर्षको मात्र भएँ, मेरो बंगारा आफैं खुस्कियो।’
समग्रमा औषधि विज्ञानको क्षेत्रमा नेपालले प्रगति गरेको भन्दै उनले प्रशंसा गरे। औषधि विज्ञानको आधारभूमि नेपाल रहेको उनको दाबी थियो। ‘नेपाल विभिन्न ऋषिमुनिको थलो हो, आयुर्वेदलगायत प्राचीन औषधि विज्ञानमा नेपालले धेरै प्रगति गरेको छ,’ उनले भने। ओलीले विभिन्न धार्मिक संस्कारभित्र रहेका तथ्यपरक पक्षसमेत केलाए।
१२ वर्षअघि आफ्नो मिर्गौला प्रत्यारोपण गरेयता आफूले स्वस्थ भएर काम गरिरहेको प्रसंग उनले उल्लेख गरे।
२४ वर्षअघि आफू गृहमन्त्री भएका बेला गंगालाल अस्पतालका योजना बनेका र अहिले यो अस्पतालले चामत्कारिक ढंगबाट प्रगति गरेको भन्दै उनले खुसी व्यक्त गरे।
चार वर्षअघि निर्माण सुरु भएको अस्पताल भवन समयमै सकिएको थियो।
अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले नवनिर्मित भवन ३४ शैयाको आकस्मिक कक्षसहित ओपिडी तथा प्राज्ञिक उद्देश्यका लागि उपयोग गरिने बताए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७