काठमाडौं – संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिटविरुद्ध संवैधानिक इजलासले सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वकिार गरेको छ । इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
संवैधानिक निकायमा अध्यादेशमार्फत् तत्कालीन केपी शर्मा ओली सरकारका पालामा भएका नियुक्ति संविधान विपरित भन्दै परेको रिटमाथि सुनुवाई भएको हो । संवैधानिक निकायमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुई पटक गरी ५२ पदाधिकारीको नियुक्ति संवैधानिक परिषदले अध्यादेशमार्फत् बैठक बसी गरेको थियो ।
कायममुकायम प्रधानन्यायाधीश दिपक कार्कीको अध्यक्षतामा गठित इजलासमा न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडा रहेका छन् । इजलासले मुद्दाको अन्तिम किनारा भने लगाएको छैन ।
संवैधानिक परिषदले नियुक्तिको निर्णय लिंदा अध्यक्षका रुपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, महाभियोगका कारण हाल निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बैठक बसेर निर्णय लिएका थिए । तत्कालीन विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले बैठक बहिष्कार गरेका थिए । यसकारण नियुक्ति विवादमा परेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७