यती एयरलायन्सले पहिलोपटक पोखरादेखि भैरहवा उडान थालेको छ। बिहीबार पोखरा एयरपोर्टबाट भैरहवाका लागि जहाज पठाइएको हो। पहिलो दिन चार विदेशीसहित पोखराबाट १४ जना यात्रु लिएर उडेको जहाजले भैरहवाबाट १४ जना नेपाली यात्रु लिएर फर्किएको छ।
पोखरादेखि काठमाडौं उडान भर्दै आएको यतीले यात्रुको चाप र आवश्यक्ता मध्यनजर गरी भैरहवासहित भरतपुर र माउण्टेन फ्लाइट गर्न लागेको हो। आउँदो महिनादेखि यतीले पोखरादेखि भरतपुरसम्म उडानसुरु गर्ने भएको छ । भदौ १५ देखि भरतपुरमा पनि नियमित उडान गर्ने र भदौ २९ देखि माउन्टेन फ्लाइट सञ्चालन गर्ने भएको छ।
पोखरा आएका पर्यटकलाई चितवन र लुम्बिनी जानका लागि यसअघि बुद्ध एयरले मात्रै फ्लाइट सुरु गरेको थियो। यतीले जहाज उडाउन थालेपछि यात्रुलाई थप सहज हुनेछ । पोखरादेखि भैरहवा २० मिनेट उडानमा पुगिने छ। पोखरा-भैरहवा उडानका लागि २ हजार ७ सय देखि बढीमा ४ हजार ३ सय ५० रुपैयाँ भाडा कायम गरिएको छ।
अर्को महिनादेखि सुरु हुने पोखरा-भरतपुर उडानका लागि २ हजार ५ सय देखि ३ हजार ८ सय रुपैयाँ लाग्ने कम्पनीका प्रवक्ता भीमराज राईले जानकारी दिए। उनका अनुसार पोखरा विमानस्थलबाट दैनिक ३० मिनेटको माउन्टेन फ्लाइट पनि सुरु हुँदै छ।
पर्यटकलाई माछापुच्छे, अन्नपूर्ण, धौलागिरिजस्ता हिमश्रृंखलाको दृश्यावलोकन गराउन माउन्टेन फ्लाइट सञ्चालन गर्न लागिएको हो। यसका लागि ८ हजार लाग्नेछ । नेपालकै सबैभन्दा ठूलो हवाइ सञ्जाल रहेको यती एयरलायन्स दक्षिण एसियाकै पहिलो कार्बन-न्युट्रल एयरलाइन्स भएको कम्पनीको दाबी छ।
यतिले पोखरा र भैरहवाबाट हरेक दिन एउटा फ्लाइट गर्ने छ । पोखराबाट साढे ९ बजे र भैरहवाबाट १० बजेर १० मिनेटमा उडान हुने एयरलाईन्सका हर्क रावलले जानकारी दिए । उनका अनुसार यो रुटमा ३० सीट क्षमताको जेट स्टिम जहाज उड्ने छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३