काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको बताएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको जिकिर गरेका हुन् ।
उनले भने, “हालसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो सङ्कट आएको छैन ।” पत्रकार सम्मेलनमा उनले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए । उनले व्यवसायी र जनतालाई हतोत्साही बनाउने गरी प्रचार भइरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरे । अर्थतन्त्रलाई नियमति बनाउन सरकार सतर्क भएर लागिपरेको उनको भनाइ छ । मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिने उद्देश्यले आज पत्रकार सम्मेलनको आयोजना गरिएको अर्थसचिव मधुकुमार मरासिनीले जानकारी दिए ।
त्यस्तै, अर्थमन्त्री जनार्दन शर्माले कानुन सम्मत् तरिकाले नै नेपाल राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गरिएको बताए । उनले राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिनको प्रक्रिया अगाडि बढाइएको बताए । छानबिनका लागि समिति गठन भइसकेकाले सोही समितिले दिने रिपोर्टका आधारमा थप निर्णय हुने उल्लेख गरे । गत बिहिबारको मन्त्रिपरिषद्को बैठकले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो । गभर्नरमाथि छानबिन समिति गठन भएपछि स्वतः निलम्बन हुने व्यवस्था छ ।
छानबिन समिति गठन भएकाले यस विषयमा थप टिप्पणी गर्नु आवश्यक नभएको उनको भनाइ छ । निक्षेपको तुलनामा कर्जा विस्तार बढी भए पनि त्यसले अर्थतन्त्रमा गुणस्तरीय प्रतिफल प्राप्त नभएको अर्थमन्त्रीको भनाइ छ । आफूले मन्त्रालय र मन्त्रालय मातहतका कुनै पनि निकायमा हस्तक्षेप नगरेको बरु नेतृत्व प्रदान गरेको उनको भनाइ छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३