साउन २०, काठमाडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले आजदेखि शुभकामना र बधाई दिनेहरूलाई समय नदिने भएका छन् । सामाजिक सञ्जालमार्फत मन्त्री भट्टराईले विभिन्न सामाजिक सञ्जालमा शुभकामना तथा बधाई दिनेहरूलाई धन्यवाद दिँदै आजदेखि, कार्यकर्ता, सुभेच्छुकहरूलाई बधाई दिन मन्त्रालयमा नआउन आग्रहसमेत गरेका छन्। उनले कार्य व्यस्तताका कारण समय दिन नसकिने उल्लेख गरेका छन्।
मन्त्री भट्टराईले प्रधानमन्त्रीले आफूलाई भरोसा गरेर प्रधानमन्त्री ओलीले दिएको जिम्मेवारीलाई टुट्न नदिने प्रतिवद्धता गरेका छन्। यस्तो छ भट्टराईको स्टाटस :
सम्माननीय प्रधानमन्त्रीज्यू एवं नेपाल कम्युनिष्ट पार्टी नेतृत्वले मलाई विश्वास गरेर संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी प्रदान गर्नु भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू एवं नेपाल कम्यूनिष्ट पार्टी नेतृत्व प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। मैले मन्त्रालयको जिम्मेवारी लिए संगै मलाई प्रत्यक्ष भेटेर फोन मार्फत तथा Facebook,Twitter,Viber, WhatsApp, WeChat लगायतका सामाजिक सञ्जाल मार्फत म प्रति विश्वास र भरोसा राखी शुभकामना एवं वधाई ज्ञापन गर्नु हुने अग्रज शुभेच्छुक राजनीतिक मित्रहरू एवं सम्पूर्ण महानुभावहरुमा अन्तरहृदयदेखि कृतज्ञता ज्ञापन गर्दछु । यहाँहरूले म प्रतिप्रकट गर्नु भएको स्नेह एवं शुभकामना मेरा लागि कार्यसम्पादन गर्ने उर्जाको रूपमा रहने विश्वास गरेको छु। मन्त्रालयको कार्यभार ग्रहण गरेसँगै कार्यव्यस्तताले गर्दा यहाँहरूको अपेक्षाअनुरूप समय उपलव्ध गराउन कठिनाइ भएकोमा आगामी दिनमा यहाँहरूका अमूल्य सुझाव र सल्लाहका लागि सम्पर्क गर्ने विश्वास दिलाउन चाहन्छु। साथै मन्त्रालयको कार्यव्यस्तताले गर्दा आज देखि शुभकामना तथा बधाईका लागि समय उपलव्ध गराउन कठिनाई हुने कुरा सविनय अनुरोध गर्दछु। यहाँहरुले मप्रति देखाउनुभएको भरोसा र विश्वास कहीँ कतै टुट्न नदिने र यहाँहरू सबैको सल्लाह र सुझाव लिएर लक्ष्य प्राप्तिमा क्रियाशील रहने विश्वास दिलाउन चाहन्छु। शुभकामना र बधाई दिने क्रममा सार्वजनिक भएका केही तस्वीरहरूलाई लिएर मप्रति अन्यथा नबुझिदिनहुन सम्पूर्ण शुभेच्छुक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछु।
योगेश भट्टराई
मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७