अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे नेपाली सेनाले अमेरिकी राजदूतावासलाई सोझै पत्राचार गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले असन्तुष्टि व्यक्त गरे ।
पूर्वअर्थमन्त्री समेत रहेका नेता पुनले परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, कानुन मन्त्रालय कसैलाई पनि जानकारी नै नदिई नेपाली सेनाले सो विषयमा सोझै पत्राचार गर्ने काम गम्भीर भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अव यस्ता घटना हुन नदिन सरकार र राजनीतिक नेतृत्वलाई सचेत हुन पनि पटकपटक आग्रह गरे ।
उनले भने, ‘एसपीपीको कुरो परराष्ट्र मन्त्रालयमार्फत् आउनुपर्ने हो । सामान्यतयाः परराष्ट्र मन्त्रालयमार्फत आएर रक्षा हुँदै आवश्यक सुझावका लागि आर्मी हेडक्वार्टरमा पुगेर फेरि कानून मन्त्रालयको समेत परामर्श लिएर क्याविनेटबाट निर्णय गरेर परराष्ट्रले सो विषयमा पत्राचार गर्नुपथ्र्यो ।’
उनले थपे, ‘तर, यी सबै कुुरालाई छलेर सेनाले पत्राचार गरेको देखियो । यो गम्भीर कुरा हो । अव आइन्दा यस्तो हुन नदिन सरकार र राजनीतिक नेतृत्व सचेत हुन जरुरी छ । यो त राजनीतिक नेतृत्व र सरकारको नेतृत्वलाई छलेर आएको छ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७