अख्तियारमा उजुरीको चाङ छन् । तर, कारकाहीमा भने अति कम मात्र जाने गरेको देखिएको छ । चालू आर्थिक वर्षको ११ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार सम्बन्धी बाह्र हजार ४९२ वटा उजुरी परे । यो संख्या साउनदेखि असार महिनाको १५ गतेसम्म विभिन्न स्रोतहरुबाट परेको उजुरी हो । तर, अख्तियारले अनुसन्धानपछि विशेष अदालतमा भने यसबीच जम्मा ११७ वटा मात्र मुद्दा दायर गर्यो ।
अख्तियारले यसरी अनुसन्धानपछि अभियोजन दर्ता गरेको मुद्दाको संख्या उजुरी परेको संख्याको तुलनामा ०.९३ प्रतिशत मात्र रहेको देखिन्छ । त्यसो त अख्तियारलाई बेला बखत विवादमा तान्ने गरेको स्ट्रिङ अपरेशन मार्फत यो वर्ष जम्मा २४ जना व्यक्तिहरु समेत पक्राउ परेको देखिएको छ ।
यसरी अख्तियारद्धारा खटिएका प्रहरीद्धारा पक्राउ पर्नेहरुमा रंगेहात ३ हजार रुपैयाँ देखि ५ लाख रुपैयाँसम्म पक्राउ परेको अख्तियारको विवरणमा उल्लेख छ । यसरी पक्राउ खानेमा मालपोत कार्यालयका ७ जना कर्मचारीहरु रहेका छन् । यसरी अख्तियारको फन्दामा पर्नेहरुमा स्थानीय तहका कर्मचारीहरुको संख्या पनि उल्लेख्य मात्रामा रहेको छ ।
आयोगमा परेका उजुरीमा तथ्य र प्रमाण नपुगेका कारण परेका उजुरी मध्ये थोरै मात्रामा अभियोजनमा जाने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी वेद प्रसाद भण्डारीले बताए । उनले भने, ‘आयोगमा विभिन्न स्रोतहरुबाट भ्रष्टाचार सम्बन्धीका उजुरी आउने गर्छन् । परेका उजुरीमा तथ्य र प्रमाण नपुगेका कारण थन्किने गर्छन् । छानबिनका क्रममा तथ्य प्रमाण पुगेका उजुरीहरु मात्र अभियोजनमा गएका हुन् ।’
उनका अनुसार आयोगमा उजुरी परेपछि छानबिनमा गएका उजुरीहरु पनि अदालतमा बुझाउन सक्ने गरी दसी प्रमाण भेटिएपछि भ्रष्टाचार गरेको प्रमाणित भएमा मात्र अभियोग पत्र दायर हुने गर्छ । उनले भने, ‘आयोगमा परेका उजुरीहरु कति गहकिला छन् भन्नेमा पनि भर पर्छ । कतिपय मनगढन्ते उजुरीहरु पनि पर्ने गर्छ । उजुरीहरुको छानबिन र अनुसन्धानका लागि पनि समय लाग्ने गर्छ । झुटा उजुरीहरु छोटो समयमा नै तामेलीमा भइसक्छन् भने कतिपय बदर हुने गर्छन् ।’
पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाइनबाट पनि उजुरी आउने गर्छन् । आयोगको वेभसाइट र अन्य फेसबुक, इमेल, ट्वीटर, भाइबर, हटलाइन, टोल फ्री नम्बर र हुलाक बाट बाट पनि उजुरी गर्न मिल्छ । टंगाल बाहेक अन्य आठ कार्यालयबाट पनि उजुरी गर्न मिल्ने गरेको आयोगका सूचना अधिकारी भण्डारीले जानकारी दिए ।
उनले भने, ‘सूचना प्रणालीको एकीकृत प्रणालीबाट उजुरी दर्ता गरिन्छ । हामीले त्यो उजुरीको जेनेरेटाइज गर्छौ । सिस्टम मै जेनेरेटाइज हुन्छ । उजुरी आएको जानकारी आएपछि छानबिनको प्रक्रिया सुरु हुन्छ । उजुरी जहाँ दर्ता भए पनि एकिकृत रुपमा काठमाडौं नै ल्याइन्छ । यहाँ बाट नै छानबिन र जिम्मेवारी तोकिन्छ ।’
पछिल्लो पाँच महिनामा आयोगमा ४ हजार ४८१ वटा उजुरी परेका छन् । उक्त संख्या चालु आवको फागुनदेखि असार १५ गतेसम्मको हो । यस अवधिमा जसमा सबैभन्दा बढी लिखित निवेदनबाट १५१६ वटा, हुलाक सेवाबाट ७८३ वटा, इमेलबाट ८७३ वटा, आयोगको वेभसाइटबाट ७०४ वटा, टेलिफोनबाट ३०७ वटा, समाचार पत्रबाट ८१ वटा र अन्य स्रोतबाट १६४ वटा उजुरी परेको हो ।
थप सात महिनामा कति परे उजुरी ?
आयोगको तथ्यांक हेर्ने हो भने चालू आर्थिक वर्षको साउन महिनामा मात्र १६३२ वटा उजुरी परेका छन् । जसमा सबैभन्दा बढी लिखित निवेदनबाट ५६६ वटा, हुलाक सेवाबाट ३५० वटा, इमेलबाट ३११ वटा, आयोगको वेभसाइटबाट २१६ वटा, टेलिफोनबाट ७३ वटा, समाचार पत्रबाट ६४ वटा, मोबाइल एपबाट ३० वटा र फेसबुकबाट २२ वटा उजुरी परेको हो ।
यसैगरी भदौ महिनामा विभागमा मात्र १६३२ वटा उजुरी परेका छन् । लिखित निवेदनबाट ४४२ वटा, हुलाक सेवाबाट २९१ वटा, इमेलबाट २५९ वटा,आयोगको वेभसाइटबाट १८४ वटा, टेलिफोनबाट ७० वटा, समाचार पत्रबाट २७ वटा, मोबाइल एपबाट १६ वटा र फेसबुकबाट ७ वटा र भाइबरबाट एउटा उजुरी परको तथ्यांकमा उल्लेख छ ।
आयोगको तथ्याङक अनुसार असोजमा विभिन्न स्रोतहरुबाट १०१९ वटा उजुरी परेका छन् । लिखित निवेदनबाट ३२० वटा, हुलाक सेवाबाट २६१ वटा, इमेलबाट १७७ वटा, आयोगको वेभसाइटबाट १८३ वटा, टेलिफोनबाट ४८ वटा, समाचार पत्रबाट १२ वटा, मोबाइल एपबाट ८ वटा र फेसबुकबाट ९ वटा उजुरी परेको हो ।
अख्तियार दुरुपयोग अुनसन्धान आयोगमा कात्तिक महिनामा ८४० वटा उजुरी परेका छन् । जसमा लिखित निवेदनबाट १९७ वटा, हुलाक सेवाबाट २३४ वटा, इमेलबाट १९३ वटा,आयोगको वेभसाइटबाट १३० वटा, टेलिफोनबाट २७ वटा, समाचार पत्रबाट १३ वटा, मोबाइल एपबाट २१ वटा र फेसबुकबाट २ वटा र भाइबरबाट एउटा उजुरी परको तथ्यांकमा उल्लेख छ ।
मंसिर महिनामा आयोगमा ९९२ वटा उजुरी परेका छन् । यस महिनामा लिखित निवेदनबाट ३०७ वटा, हुलाक सेवाबाट २६९ वटा, इमेलबाट २०५ वटा,आयोगको वेभसाइटबाट १२२ वटा, टेलिफोनबाट ३१ वटा, समाचार पत्रबाट २३ वटा, मोबाइल एपबाट १४ वटा र फेसबुकबाट ३ वटा उजुरी परेको हो ।
यस्तै, पुसमा एक हजार ११५ वटा उजुरी परेका छन् । जसमा लिखित निवेदनबाट ३९१ वटा, हुलाक सेवाबाट २०३ वटा, इमेलबाट २०५ वटा, आयोगको वेभसाइटबाट १९१ वटा, टेलिफोनबाट ६७ वटा, समाचार पत्रबाट ८ वटा, मोबाइल एपबाट १३ वटा र फेसबुकबाट ५ वटा एउटा उजुरी परेको तथ्यांकमा उल्लेख छ ।
यसैगरी आयोगको तथ्यांक अनुसार माघमा एक हजार ६५७ वटा उजुरी परेका छन् । जसमा लिखित निवेदनबाट १८५ वटा, हुलाक सेवाबाट ९५ वटा, इमेलबाट १५८ वटा, आयोगको वेभसाइटबाट १३६ वटा, टेलिफोनबाट २७ वटा, समाचार पत्रबाट २२ वटा र फेसबुकबाट ६ वटा एउटा उजुरी परेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३