नेकपा राष्ट्रिय एकता अभियानका प्रवक्ता निमाकान्त पाण्डेले संयोजक वामदेव गौतमलाई निष्कासन गर्नेहरूमाथि कारबाही गरिएको बताएका छन्। अराजक गतिविधि गरेको भन्दै उनीहरूलाई अभियानबाट निकालिएको उनको भनाइ छ।
शनिबार बैठक बसेर आम नेपाली पार्टी, नेकपा (राष्ट्रवादी), आधुनिक नेपाल समाजवादी पार्टी र समाजवादी केन्द्र नेपालका नेताहरूले गौतमलाई निष्कासन गरेको बताएका थिए। एक साताअघि वामदेवले यी पार्टीहरूको साथ लिएर अभियान घोषणा गरेका थिए।
वामदेवलाई हटाएर उनको ठाउँमा समाजवादी केन्द्रका सर्वोच्च नेता युवराज सफललाई संयोजक बनाइएका थिए।
पाण्डेले उनीहरू सबैलाई अभियानबाट निकालिएको बताए।
युवराजले यसअघि नै अभियान छोडिसकेको उल्लेख गर्दै उनलाई अब अभियानमा सहभागी हुन नदिने पाण्डेले बताए।
‘अरू तीन जनाले भने आत्मआलोचना गरेर निवेदन दिए जिम्मेवारी दिन सकिने छ,’ पाण्डेले भने।
समाजवादी केन्द्रका सर्वोच्च नेता युवराज सफल, आधुनिक नेपाल समाजवादी पार्टीका अध्यक्ष कृष्णगोपाल बन्जरा, आम पार्टी नेपालका अध्यक्ष निलकण्ठ पौडेल र नेकपा राष्ट्रवादीका अध्यक्ष मिननाथ देवकोटाले वामदेवलाई निष्कासन गरेका थिए।
वामदेवले सांगठनिक अराजकता, निरंकुश तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरेकाले कारबाही गरेको आम पार्टी नेपालका अध्यक्ष निलकण्ठ पौडेलले बताएका थिए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७