आदिवासी जनजाति मातृभाषामा निर्माण हुने चलचित्रलाई राज्यले छुट्टै दृष्टिकोणले हेर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेवाः फिल्म सोसाईटीले ललितपुरमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले मातृभाषी चलचित्रलाई पनि मूलधारको नेपाली चलचित्रकै नीति लाद्न नहुनेमा जोड दिए ।
कार्यक्रममा बोल्दै आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले महासंघकै पहलमा राज्यले बनाएको चलचित्र ऐनमा आदिवासि जनजातिको प्रतिनिधित्त्व सुनिश्चित बनाउन सकेको बताए । ‘विगतमा राज्यले मातृभाषी चलचित्रलाई देख्दैनथियो, तर अहिले महासंघकै पहल र सक्रियतामा राज्यका चलचित्र सम्वन्धि विभिन्न योजना वा ऐन निर्माण गर्दा जनजाति चलचित्रकर्मीलाई पनि आवद्ध गराउन थालिएको छ’ सुनुवारले भने । मातृभाषी चलचित्रको निर्माण इजाजत प्राप्त गर्न चलचित्र विकास बोर्डबाट केही सहुलियत सुविधा पाइएपनि सेन्सर लगायतका प्रकृया अझै झन्झटिलो रहेको सुनुवारले बताए । यस सम्वन्धमा या त छुट्टै आदिवासी जनजाति चलचित्र सेन्सर बोर्ड गठन गर्न अथवा हालको सेन्सर बोर्डमा मातृभाषी चलचित्रको लागि छुट्टै ढाँचा बनाउन आफुहरुले माग गर्दै आएको सुनुवारले जानकारी गराए । अहिलेको समयमा जनजाति चलचित्रको निर्माणको संख्या बढे पनि लगानी उठाउन ठुलो समस्या रहेको उनले बताए ।
नेवाः फिल्म सोसाईटीले असार १९ देखि २१ गतेसम्म कुमारीपाटी ललितपुरस्थित स्कूल अफ फिल्म मेकिङमा तीन दिने एडभान्स्ड भिडियोग्राफी कार्यशालाको आयोजना गरेको थियो । मंगलबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी कार्यशालाको समापन गरिएको थियो । उक्त समारोहमा बोल्दै सोसाईटीका अध्यक्ष बिराज काजी राजोपाध्यायले युवाहरु लक्षित येस्ता कार्यक्रमले युवाहरुलाइ आदिबासी चलचित्र तर्फ आकर्षित गर्दै आफ्नो कला र आदिबासी सृजनामा टेवा पुग्ने बिश्वास व्यक्त गरे । अध्यक्ष राजोपाध्यायले सोसाइटीले आउँदो श्रावण ६ गते कलाकार भेला कार्यक्रमको आयोजना गर्न लागेको र उक्त भेलाबाट ३ वटा महत्त्वपूर्ण विषयहरुको घोषणा गर्ने जानकारी पनि गराए ।
सोसाईटीका निवर्तमान अध्यक्ष लुःजः सिंहले कार्यशालामा सिकेको सीपलाई व्यवहारमा उतार्दै मातृभाषी चलचित्रलाई पनि सक्दो योगदान दिन आग्रह गरे । ३ दिने प्रशिक्षणमा १० जना युवालाई प्रशिक्षक बिशाल राजभण्डारीले भिडियोग्राफीका विविध बिषयमा प्रशिक्षण दिएका थिए । समापन समारोहमा महासंघका अध्यक्ष सुनुवारले कार्यशालाका सहभागी साथै प्रशिक्षकलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३