संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विदेशी पर्यटकको पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताएका छन् । आइतबार पर्यटन मन्त्रालयमा काठमाडौं विश्व विद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच भएको सम्झौता कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपालमा पर्यटकको संख्या बढाउँदै विदेशीको लागि पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताएका हुन् ।
उनले सरकारले नेपालको प्रकृति,संस्कृति र एडभान्चरसँग जोडिएका विषयमा केन्द्रित भएर पर्यटन विकास गरी विश्वका पर्यटकलाई आकर्षित गर्ने बताए । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रका ब्राण्डिङहरुलाई रिब्राण्डिङ गर्ने बताए । उनले यसरी पर्यटन क्षेत्रको विकास गर्दा पर्यटकका संख्यामा बृद्धि हुने अपेक्षा गरेको बताए । मन्त्री श्रेष्ठले नेपालमा अत्याधिक रुपमा पर्यटकको संख्या बृद्धि भए अहिलेको जनशक्तिले नधान्ने भन्दै यसमा वृद्धि गर्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्ने बताए ।
उनले भने, ‘नेपालमा पर्यटनहरुको संख्यालाई बृद्धि गर्ने, संसारका पर्यटकहरुको गन्तव्यको रुपमा नेपाललाई बनाउने सरकारले लक्ष्य लिएको छ । हाम्रो प्रकृतिसँग जाडिएका कुराहरु, संस्कृतिसँग जोडिएका र एडभान्चरसँग जाडिएका कुराहरुलाई केन्द्रित गरेर नेपालको पर्यटन क्षेत्रलाई विकास गरेर विश्वका पर्यटकलाई आकर्षित गर्नुपर्छ । पर्यटन क्षेत्रका ब्राण्डिङहरुलाई रिब्राण्डिङ गर्नुपर्छ ।’
उनले थपे, ‘यसरी पर्यटन क्षेत्रको विकास गर्दा पर्यटकको धेरै संख्याको अपेक्षा गरेका छौं । पर्यटकको संख्यामा वृद्धि हुने हो भने हामीसँग भएको जनशक्तिले पुग्दैनन् । अहिले नेपालमा उत्पादन भएका जनशक्तिहरु अन्तराष्ट्रिय बजारमा गएको स्थिति छ । त्यसले पनि अभाव महशुस गरेको छ । पर्यटन क्षेत्रको विकास हुँदा आवश्यक पर्ने वस्तु तथा सेवाको परिपूर्ति गर्नुपर्ने आवश्यकता छ ।’
मन्त्री श्रेष्ठले नेपालमा आएका पर्यटकका लागि पर्यटकको देश अनुसारकै खाना बनाउनुपर्छ भन्ने मान्यताको अत्य गर्नुपर्ने बताए । उनले नेपाली खानामा पनि धेरै विविधता, मौलिकता र पौष्टिकता रहेकाले पर्यटकहरुलाई नेपाली खाना खुवाउने सोच राख्नुपर्ने बताए । मन्त्री श्रेष्ठले नेपाली मौलिक तथा परम्परागत खाना विश्वका अन्य मुलुकको भन्दा कमी नभएको दाबी गरे ।
उनले नेपालको मौलिकतालाई पहिचान दिने गरी होटल व्यवस्थापनको क्षेत्रलाई विकास गरी नेपालको छुट्टै पहिचान बनाउन सकिने बताए । मन्त्री श्रेष्ठले अहिलेसम्म नेपाललाई सगरमाथा, गौतम बुद्ध जन्मभूमिको रुपमा प्रचार गरिएको भन्दै अब हस्पिटालिटी क्षेत्रको पनि प्रचार गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘नेपालको पर्यटन व्यवसायको मान्यता कस्तो छ भने कोरियन पर्यटक आउँदा कोरियन खाना, जापानिज आउँदा जापनिज खाना तयार गरेर बस्नुपर्ने खालको छ । अब कोरियन आउँदा नेपाली खाना बनाएर खुवाउँ भन्ने सोचबाट जानसक्ने कि नसक्ने ? नेपाली खानामा पनि धेरै विविधता, मौलिकता र पौष्टिकता समेत छ । यस्ता कुराहरुलाई अनुसन्धान गरेर त्यस्ता कुराहरु ल्याउने हो भने कुनै पनि देशमा पौष्टिक आहार हाइजेनिक भन्ने भन्दा कुनै मानेमा पनि कमी छैन ।’
उनेल थपे, ‘हाम्रा तिथि र पर्व अनुसार खानाका परिकारहरु छन् । यस्तो कुराहरुमा पनि हामीले अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिन्छ । हामीले हाम्रो मौलिकतालाई पहिचान दिनेगरी हाम्रो हस्पिटालिटी क्षेत्रलाई कसरी विकास गर्ने अनुसन्धानको विषय बन्छ । यसरी जानसके नेपालको छुट्टै पहिचान छ । नेपालले सगरमाथा,गौतम बुद्ध जन्मभूमिको रुपमा गरेका छौं ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३