एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउावलाई भेटेका छन् ।
ओली देउवा भेट्न बुधबार बिहान प्रधानमन्त्रीको सरकार निवास बालुवाटार पुगेका थिए । भेटमा ओली र देउवाबीच सौहार्दपूर्ण कुराकानी भएन । श्रोतका अनुसार ओलीले एमालेविरुद्धको गठबन्धनमा सात दल पुगिसकेको भन्दै अब कति दल थप्ने सोचाई छ भन्दै आक्रोशपूर्ण प्रश्न गरेका थिए ।
ओलीले एक्लाएक्लै चुनाव लड्न नसकेर विचार, राजनीति र सिद्धान्त नमिल्नेहरुबीच गठबन्धन बनाएको बताए । असंगत गठबन्धनले निषेधको राजनीति गरेको उनको भनाइ थियो ।
‘लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्ष हुन्छन् । उनीहरूबीच प्रतिस्पर्धा हुन्छ । तर एमालेलाई निषेध गर्नका निम्ति सत्ता गठबन्धन ७ दलीय पुग्यो’, ओलीको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने, अब ८, ९, १० कति दल पुर्यााउनुहुन्छ ?’
ओलीले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको सराहना गर्दै संवैधानिक दायित्व निर्वाह गर्दा सत्ता गठबन्धनले राष्ट्रपतिलाई चुनौती दिएर गैरजिम्मेवार व्यवहार देखाएको बताए ।
नेम्वाङका अनुसार ओलीले स्थानीय निर्वाचन निष्पक्ष नभएको भन्दै ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावारणमा गराउन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७