एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले विगतमा गरेका गल्तीका लागि जनतामाझ माफी माग्नुपर्ने प्रस्ताव राखेका छन् ।
मंगलबारको स्थायी समिति बैठकमा भुसालले लिखित प्रस्ताव पेस गर्दै आफ्ना गल्तीका लागि ‘क्षमा सप्ताह’ लिएर जनतामा जानुपर्ने प्रस्ताव राखेका हुन् । नेकपा विभाजनबारे पार्टीको मुल नेतृत्वबाट भएका गल्ती उल्लेख गरेर स्वेश्पत्र जारी गर्नुपर्ने प्रस्ताव भुसालको छ । गल्ती स्वीकार गरेर जान सकिए जनताले आफूलाई फेरि पनि समर्थन गर्न सक्ने तर्क उनले गरे ।
‘हाम्रा कुन गल्ती र कमजोरीले वाम आन्दोलन विभाजित भयो भन्नेबारे श्वेतपत्रसहित हामी जनताकोमा जाँदा जनताले ठूलो समर्थन दिनेछन्,’ भुसालले प्रस्तावमा भनेका छन्, ‘जनताका बीचमा जाने त्यस्तो कार्यक्रमलाई मैले ‘क्षमा सप्ताह’ भनेको छु ।’ भुसालले अब गल्ती गर्दैनौं भनेर गए जनताले माफी दिन सक्ने बताए । राजा ज्ञानेन्द्रको निरंकुशताविरुद्ध एमालेले जनमत निर्माण गरेको स्मरण गर्दै उनले जनतामा गएर माफी मागे फेरि जनमत आफूहरुका पक्षमा फर्कन सक्ने उल्लेख गरेका छन् ।
भुसालले आफूले उठाएका प्रश्न पार्टीको भविष्यसँग गाँसिएको भन्दै व्यक्तिगत रूपमा केही लिनुदिनु नभएको टिप्पणी गरेका छन् । विचारमा बहस गर्दा ‘म कहाँ पर्छु मेरो भविष्य के हुन्छ ? ’ भन्ने चिन्ता आफूलाई नरहेको उनको प्रष्टीकरण थियो ।
‘आफ्नो विचार कोसँग मिल्दा नमिल्दा मलाई लाभहानी हुन्छ भन्ने हिसाब–किताब मैले गरेको छैन,’ उनले भनेका छन् । आफूले पार्टी सुदृढीकरणका एजेण्डा उठाउँदा विगतमा अनावश्यक रूपमा विवादित बनाउने प्रयत्न हुँदै आएको समेत भुसालले स्मरण गरे । पार्टीलाई सुधार्न प्रयत्न गर्दा अनुशासन आयोगका नाममा आफूलाई विवादमा तान्ने प्रयास गरिएको उनको भनाइ थियो ।
फरक प्रसंगम भुसालले एमाले नेतृत्वमा वामपन्थीहरुको साझा मोर्चा बनाउने प्रयासको निरन्तरता हुनुपर्नेमा जोड दिए । एमालेले फराकिलो चित्त बनाएर वाम एकताका लागि हात बढाए अझै वामपन्थीहरुले प्रतिनिधिसभाको कूल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ५० मा जित निकाल्न सक्ने सम्भावना अझै जिवित रहेको दाबी भुसालले गरे ।
उनले काँग्रेस एमालेविरुद्ध कम्युनिष्ट शक्तिलाई नै प्रयोग गर्ने रणनीतिमा रहेको चर्चा गरेका भुसालले यदि एमालेले त्यसलाई रोक्न नसके निर्वाचनमा पराजय भोग्ने मात्र नभई कम्युनिष्ट आन्दोलनलाई नै दिर्घकालीन क्षति पुग्ने तर्क गरेका छन् । भुसालले नेकपा विभाजनको प्रमुख कारण व्यक्तिलाई केन्द्रमा राखेर गरिएको एकता भएको उनको भनाइ छ ।
प्रतिनिधिसभा विघटनमा गल्ती भएको दोहो¥याउँदै भुसालले राष्ट्रिय राजनीतिमा विघसित घटनाक्रमलाई मसिनो गरी केलाएर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३