अवैध संरचना भत्काएकमा आफूविरुद्ध सामाजिक सञ्जालमा पोष्ट गरेका एमाले नेता महेश बस्नेतबारे मेयर बालेन्द्र साहले मुख खोलेका छन् ।
आफूनिकट व्यवसायीले सञ्चालन गरेको नयाँबनेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बालेन्द्रले डोजर चलाएपछि आक्रोशित भएका बस्नेतले सन्की र लहडी भन्दै पहिलो पोष्ट गरेका थिए । जसमा बालेन्द्रले अल्फा सञ्चालकले आफूसँग पनि फोटो खिचेको भन्दै जवाफ फर्काए ।
उनले नियम कानूनको पालना सबैले गर्नुपर्ने भन्दै उनले बस्नेतको घरको नक्सा भए/नभएको सोधे । बस्नेतको पोष्टमा फलो गरेका बालेनले लेखेका छन्, ‘नियम कानून पालना सबैले गर्नुपर्छ कमरेड । बरु हजुरको घरको नक्सा पास छ कि छैन ?’
त्यसको जवाफमा बस्नेतले भत्काएर र ध्वंश गरेर हिरो हुन्छु भन्ने नसोच्न बालेन्द्रलाई चेतावनी दिए । उनले आफ्नो क्षेत्र भक्तपुरमा विकासको लहर चलेको भन्दै लेखेका छन्, ‘यताका डोजरमा मेयर चढ्दैनन् ड्राइभर चढ्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला ।’
बस्नेतले बालेनलाई सबैको घरको नक्सा हेर्न भुत सवार भएको भन्दै आफ्नो घरको नक्सा हेर्ने भए मन भए काजमा सूर्यबिनायक नगरपालिकामा आउन भनेका छन् । बिहीबार अल्फा बिटा कम्प्लेक्समा निर्मित अवैध संरचनामा डोचर लगाउने क्रममा शाह र अल्फा सञ्चालकबीच विवाद भएको बस्नेतले बालेन्द्रलाई फेसबुके फ्यानको आडमा नमात्तिन पनि चेतावनी दिएका छन् ।
केही दिनयता साहले आफैं डोजर लिएर अवैध रुपमा निर्माण गरिएका व्यापारिक संरचना भत्काउँदै आएका छन् । पार्किङका लागि भनेर नक्सा पास गराए पनि अन्य प्रयोजनमा प्रयोग गरेका व्यापारिक संरचनामा बालेनले धावा बालेका हुन् । उक्त कार्यको समर्थन र विरोधमा समाज विभाजित छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७