नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष तथा सभामुख ली चान्शुको सवारीका कारण आज पनि काठमाडौँ उपत्यकाको यातायात दिनभर जसो प्रभावित हुने भएको छ ।
चान्शु नेतृत्वको टोली बिहान ९ बजेपछि भक्तपुर दरबार स्क्वायर अवलोकन भ्रमणमा जाँदैछ । यस्तै उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यतालिका छ । भेटवार्ता र भ्रमणमा कारण राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । लीले राष्ट्रपति भण्डारीलाई अपरान्ह साढे ३ बजे भेट्ने कार्यक्रम छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिनभरजसो नै वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । बिहान ९ बजे आसपास रविभवनदेखि सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधेराधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडिओ कार्यालयदेखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुनेछ । भक्तपुर दरबार क्षेत्रबाट फर्कने क्रममा ११ बजेपछि फेरि सोही रुटमा यातायात आवागमन प्रभावित हुनेछ ।
त्यस्तै अपरान्ह साढे ३ बजे आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवाससम्मको सवारी आवागमन प्रभावित हुने काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तेस्रो वरियताका नेता चान्शु सोमबार ६७ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै काठमाडौँ उत्रिएका थिए । उनलाई सरकारले भिभिआइपी पाहुनाका रुपमा सम्मान र सुरक्षा दिइएकाले औपचारिक सवारीका कारण यातायात आवागमन प्रभावित हुने रिजालले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७