नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा युवापुस्ताको विद्रोहको लहर आएको भन्दै यसले परम्परागत राजनीतिक शक्तिमाथि चुनौती खडा गरेको बताएका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले युवा पुस्ताको विद्रोहको लहर आएको र बालेन शाह र हर्क साम्पाङहरु त सानो झिल्को मात्र रहेको बताए ।
‘यसलाई सम्बोधन गर्न सक्नुभएन भने गाउँठाउँमा त प्रभाव नपर्ला, हाम्रो संगठनको बलमा चुनाव जितिएला’ भट्टराईले भने, ‘तर शहरी क्षेत्रहरुमा त्यति सहजै चुनाव जित्नेवाला हामी छैनौं । हामी को को बढारिन्छौं म भन्न सक्दिन, मलाई त आत्मविश्वास छैन ।’
भट्टराईले युवा पुस्तामा असन्तुष्टि रहेको भन्दै शिर ठाडो पारेर मत माग्न जाने अवस्था नभएको बताए ।
‘युवापुस्ताको असन्तुष्टि छ, त्यसलाई कम नआँक्नुस् । पाँच वर्षको समीक्षा गर्दा हामी पास हुन सकेनौं । हामीले गल्ती गर्यौं’ उनले भने ।
राजनीतिक आन्दोलनका क्रममा त्याग र बलिदान गरेवापत अहिलेसम्म जनताले चुनेर पठाइरहेको भन्दै भट्टराईले तर हालका राजनीतिक दलहरुले जनताको आकांक्षा सम्बोधन गर्न नसकेको बताए ।
‘त्यसलाई सच्याएनौं भने आगामी निर्वाचन तपाई हामीलाई सहज हुनेवाला छैन’ उनले भने ।
कमी कमजोरी सुधारेर राष्ट्रियता, लोकतन्त्र, आर्थिक विकास र समृद्धिका विषयमा नयाँ अवधारणा लिएर जान सकेमा मात्र पुन जित हासिल गर्न सकिने भट्टराईले बताए ।
‘त्यसो हुन सक्यो भने आगामी प्रतिनिधिसभामा हाम्रो भेट हुनेछ । नत्र तपाईं हामीमध्ये कति भेट हुन्छौं म भन्न सक्दिन । म आफैं यहाँ हुन्छु कि हुन्न भन्न सक्दिन ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३