एमालेले माओवादी केन्द्र छाडेर पार्टी प्रवेश गरेका उपाध्यक्ष रामबहादुर थापा बादललाई एमालेले समानुपातिक उम्मेदवार बनाएन ।
एमालेले निर्वाचन आयोगमा सोमबार बुझाएको उम्मेदवार सूचीमा थापाको नाम छैन ।
थापाले प्रत्यक्ष चुनाव नलड्ने भन्दै समानुपातिकमा राख्न माग गरेका थिए । तर, सचिवालयको म्याण्डेट पाएका अध्यक्ष केपी ओलीले अन्तिममा उनको नाम नराखी सूची बुझाएका छन् । थापा तत्कालीन माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य थिए । पार्टी विभाजनपछि एमालेमा लागेका थापालाई माओवादी केन्द्रले कारबाही गरेसँगै उनको सांसद पद गएको थियो ।
प्रचण्डको बालसखा थापा नेकपामा हुँदा नै उनीसँग रुष्ट थिए । प्रचण्डले उनलाई पार्टी एकता नहुँदै माओवादीतर्फबाट नेतृत्व गर्दै सरकारमा पठाएका थिए । उनी एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री छँदा गृहमन्त्री थिए । मोहन वैद्यसँग मिलेर माओवादी विभाजन गरी नयाँ दल बनाएका थापा एउटा समूहको नेतृत्व गरेर पुनः मुलधारको माओवादीमा फर्किएका थिए । थापासँगै मुल घर फर्किएका देव गुरुङ, पम्फा भुसाल, कुलप्रसाद केसीलगायतका नेता भने बादलको प्रयासका बाबदुज एमालेमा समाहित हुन गएनन् ।
बादलसँगै प्रत्यक्ष चुनाव नलड्ने बताएका उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र उपमहासचिव विष्णु रिमाल समानुपातिकमा समेटिएका छैनन् । यसअघि समानुपातिकमा रहिसकेकालाई पुनः नदोहोर्याउने मापदण्डका कारण उनीहरु छुटेको एमालेले जनाएको छ ।
एमालेका १९ पदाधिकारीमध्ये अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल, महाचिव शंकर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ तथा सचिवहरु योगेश भट्टराई, गोकर्णराज विष्ठ, छविलाल विकलगायत १५ जना प्रत्यक्षतर्फ उम्मेदवार बन्ने करिब निश्चितजस्तै छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३