आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि अहिले स्वतन्त्रदेखि विभिन्न पार्टीका उम्मेदवारहरु दौडधुपमा लागेका छन् । कतिपय योग्य व्यक्ति चुनावी मैदानमा उत्रिएका छन् भने विभिन्न कसुरमा जोडिएका व्यक्तिहरुलाई समेत पार्टीले टिकट दिएको छ ।
यसरी उम्मेदवारी दिएका अयोग्य ६ जना व्यक्तिहरुको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ । आगामी मंसिरमा निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएका उम्मेदवारहरुको उम्मेदवारी आयोगले खारेज गरेको हो ।
आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका रेशमलाल चौधरी र लक्ष्मण थारुको उम्मेदवारी गरेको भएको छ । त्यस्तै,नेकपा एकीकृत समाजवादीका राजु गुरूङ, नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश ओली, स्वतन्त्र उम्मेदवार हिमाल बस्याल र हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. कमल भुसाल (निकोलस)को उम्मेदवारी खारेज भएको हो ।
कैद सजाय भोगेकादेखि बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका उम्मेदवारले उम्मेदवारी दिएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १६ (ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएकोले निज उम्मेदवारहरुको मनोनयन खारेज हुने आयोगको भनाई छ ।
रेशमलाल चौधरी टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका छन् । यसका साथै उक्त घटनामा संलग्न रहेका तर हाल फरारको सूचीमा रहेका लक्ष्मण थारुले समेत उम्मेदवारी दिएका थिए । चौधरीले बर्दिया–२ मा र थारुले कैलाली–५ मा उम्मेदवारी दिएका थिए । तर, उनीहरुको उम्मेदवारी आयोगले खारेज गरेको छ ।
वि.सं २०७२ साल भदौ ७ गते सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा हिंसात्मक झडप भएको थियो । यो घटनामा संलग्नताको अभियोग लागेका चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैद र थारुलाई ३ वर्ष कैदको सजाय सुनाएको थियो । तर उच्च अदालत डोटीले चौधरी र थारु दुबैलाई जन्मकैदको सजाय सुनाएको थियो ।
त्यस्तै, निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवारी पनि खारेज गरेको छ । उनी रूपन्देहीको प्रतिनिधिसभा तर्फको निर्वाचन क्षेत्र नं. २ बाट सत्तागठबन्धनका उम्मेदवार बनेका थिए ।
गुरूङ अध्यक्ष रहेको नर्थ वेष्ट नेपाल इन्फा प्रालिले तिर्नुपर्ने २ करोड २५ लाख रुपैंया नतिरेको भन्दै अदालतमा उनी विरुद्ध २०७६ सालमै बैंकिङ कसुर सम्बन्धी उजुरी परेको थियो । अदालतले बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जित बिष्टलाई तिर्नुपर्ने दायित्व नतिरेको भन्दै २०७८ मंसिर २१ गते नै फैसला गरेको थियो । निर्वाचन कानुनले अदालतको बैंकिङ कसुरमा सजाय पाएको र कुनै पनि कालोसूचिमा परेको व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख गरेको छ । यसकै आधारमा गुरूङको उम्मेदवारी खारेज भएको हो ।
गुरूङकै क्षेत्रबाट हाम्रो नेपाली पार्टीका तर्फबाट डा. कमल भुसाल (निकोलस)ले पनि उम्मेदवारी दिएका थिए । प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) बमोजिम उनको उम्मेदवार बन्ने योग्यता नपुगेकोले उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै, नेपाली कांग्रेसबाट प्रदेशसभाको लागि उम्मेदवार बनेका प्रम प्रकाश ओलीको समेत उम्मेदवारी खारेज भएको छ । उनी रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र (ख)बाट उम्मेदवारी दिएका थिए । उनी बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भई सजाय पाएका व्यक्ति रहेको आयोगको भनाई छ ।
अर्का स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको समेत उम्मेदवारी खारेज भएको छ । यसका साथै माओवादी केन्द्रका प्रदेशसभा क्षेत्र नम्बर (ख)का उम्मेदवार राजकुमार शर्माको उम्मेदवारी खारेज भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३