एमाले छाडेर रुपन्देही–१ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले माओवादी केन्द्रको फौजले आफ्नो र आफ्ना लागि चुनावमा खसेको मतको संरक्षण गर्ने बताएका छन् ।
४ मंसिरको निर्वाचनमा आफ्ना पक्षमा बाकसमा खसेको मतको सुरक्षा माओवादीले गर्ने उनले बताए । भुसाललाई सत्ता गठबन्धनले समथर्न गर्ने निर्णय गरिसकेको छ ।
सो क्षेत्रमा गठबन्धनका तर्फबाट आफ्नो भागमा परे पनि माओवादीले उम्मेदवारी नदिई भुसाललाई सघाउने निर्णय गरेको थियो । ‘अब नेकपा माओवादी केन्द्रको यो फौज यहाँबाट छुट्यो । अब यसले मंसिर ४ गते भरी भरी बाकस बोकेरमात्रै फर्किन्छ,’ रुपन्देहीमा शनिबार आयोजित एक कार्यक्रममा भने, ‘त्यसपछि मात्रै यसले थकाइ मेट्छ । दुई दिन तीन दिन थकाइ मेट्छ बरू । सारा नेकपा माओवादी केन्द्रको फौज अब जाग्यो भनेर कसम खाएर अगाडि बढ्न अनुरोध गर्छु ।’
कार्यक्रममा भुसालले एमाले अध्यक्ष केपी ओलीको चर्को विरोध तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गरे ।
ओलीले दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरी संविधान मास्न खोज्दा प्रचण्ड र देउवाले जोगाएको उनले बताए । ‘दुईपटक संसद विघटन भयो । पहिलो संसद विघटनपछि पुनर्स्थापनाको नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै हो । दोस्रो पुनर्स्थापनाको नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हो,’ उनले भने ।
एमालेले टिकट नदिएपछि भुसालले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । निर्वाचन कार्यालयले भुसाललाई त्रिभुज चुनाव चिह्न दिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३