आसन्न आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ मा राजेन्द्र श्रेष्ठको विकल्प नभएकोमा जोड दिइएको छ । काठमाडौंमा सम्पन्न बुद्धिजिवी र अधिकारकर्मीहरुको भेलाले नेपालमा संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षाका लागि निर्वाचनमा राजेन्द्र श्रेष्ठलाई विजयी बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अधिकारकर्मी तथा जनजाति आन्दोलनका अग्रणी नेता मल्ल के. सुन्दर आसन्न आम निर्वाचनमा दल, नातागोता वा इष्टमित्र नहेरी मुद्दालाई हेरेर मतदान गर्द आग्रह गर्नुभयो । धेरैको त्याग र बलिदानबाट प्राप्त संघीयता, गणतन्त्र र धर्म निरपेक्षता अहिले पनि खतरामा रहेको भन्दै यसको रक्षाको लागि राजेन्द्र श्रेष्ठलाई मतदान गर्नुको विकल्प नरहेको मल्लको भनाई थियो ।
‘आज पनि संघीयता गणतन्त्र र धर्म निरपेक्षता आज पनि खतरामा छ । दल अथवा उम्मेदवारको अनुहार हेरेर मतदान गर्ने हो भने धेरैको त्याग र बलिदानबाट प्राप्त उपलब्धी तुहिनेछ । यस्तो परिस्थितीमा हेर्ने हो भने राजेन्द्र श्रेष्ठको विकल्प छैन’ अधिकारकर्मी मल्लले भने । त्यसैगरी अर्का अधिकारकर्मी डा. पुष्पराज राजकर्णिकारले संसदमा जनताको बोली बोल्ने नेता राजेन्द्र श्रेष्ठ मात्रै रहेकोमा जोड दिए ।
‘आवास सम्वन्धि विधेयक शंसोधन गराई, जनताको बासको रक्षा गर्ने राजेन्द्र श्रेष्ठ नै हुन्, शिक्षा सम्वन्धि विधेयक संशोधन गराई मातृभाषा शिक्षाको अधिकार सुनिश्चित गर्ने उनै हुन् । कुरा गर्ने भन्दा जनताको इच्छा र आवश्यकता बुझेर काम गर्ने उम्मेदवारलाई हामीले रोज्नुपर्छ’ डा. राजकर्णिकारको भनाई थियो ।
त्यसैगरी नेवाः लगायत आदिवासी जनजाति आन्दोलनमा सक्रिय नेता डा. महेशमान श्रेष्ठले राजेन्द्र श्रेष्ठले समुदायलाई धेरैै दिएको र अझै पनि धेरै लिन बाँकि रहेकोले उनैलाई मतदान गर्न सबैमा आह्वान गरे । ‘राजेन्द्र श्रेष्ठकै पहलले मातृभाषा विषय त लागू भयो तर, मातृभाषामा शिक्षा लिन पाइएको छैन । हाम्रा केही माग सम्वोधन भएका छन्, धेरै बाँकि छन् ।
यस्तो अवस्थामा हाम्रो आवाज उठाउनका लागि राजेन्द्र श्रेष्ठलाई नै हामीले संसदमा पठाउनुपर्छ’ डा. श्रेष्ठले भने । काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मदेवार साथै पूर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले आफुले समुदायको लागि केही गरेको तर धेरै गर्न बाँकि रहेकोले फेरी एक पटक चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।
आफु ११ वर्षको हुँदा क्षेत्रपाटीमा भएको कार्यक्रममा नेपालभाषाको गीत गाएको समयदेखि नै संगीत क्षेत्रमार्फत भाषा क्षेत्रमा निरन्तर सक्रिय रहेको स्मरण गर्दै श्रेष्ठले अहिले राजनीति क्षेत्रबाट सबैको हक, अधिकार सुनिश्चित बनाउन निरन्तर लागिरहेको भने । ‘राज्यमा सबैको समान पहुँच होस्, कोही काखा कोही पाखा नहोस् ।
सबैले समान अवसर पाओस्, समाजवादमा आधारित समावेशी समाजको निर्माण गरिनुपर्छ । मेरो उम्मेदवारी पनि यसैको लागि हो’ श्रेष्ठले भने । श्रेष्ठले प्रतिनिधि सभा सदस्य पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालबाट काठमाडौं क्षेत्र नम्बर ७ मा प्रत्यक्ष उम्मेदवारी दिएका छन् । आजकै भेला उम्मेदवार श्रेष्ठको प्रचार अभियानलाई तीव्रता दिन राजेन्द श्रेष्ठ सहयोग समिति गठन गरिएको छ । भेलाले कलाकार राजेन्द्रमान शाक्यलाई सहयोग समितिको संयोजक चयन गरेको छ ।