आसन्न आमनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपा एमाले पार्टीबाट सर्वेन्द्र खनालले सुशासन, समाज र समग्र राष्ट्रको सुरक्षा आफ्नो मुख्य एजेन्डा भएको बताएका छन् । चुनावी प्रचारको दौरान असनमा भेट्टिएका पूर्व प्रहरी महानिरिक्षकसमेत रहेका उम्मदेवार खनालले आफ्नो विज्ञता र अनुभवको आधारमा समग्र राष्ट्रको सुरक्षा र सुशासनलाई नै प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।
निर्वाचित भएर आएपछि आफ्नो ३० बर्षको अनुभवबाट पाएको ज्ञान र दख्खललाई देशको सुरक्षाका लागि पं्रयोग गर्ने उनले बताए । ‘सुरक्षा र कानून क्षेत्रमा मैले ३० वर्ष काम गरें, मेरो ज्ञान र दख्खल यहि क्षेत्रमा छ । आफ्नो अनुभव र ज्ञान देशको सुरक्षामा लगाउने छु’, उम्मदेवार खनालले भने । ‘साथमा सुशासन कायम गर्न सान्दर्भिक कानूनलाई निरन्तरता र असान्दर्भिक कानून संशोधन गर्न भूमिका खेल्नेछु ।’ आम जनतालाई व्यवाहारिक रुपमा अप्ठ्यारो बनाउने खालका कानून हटाउन पनि आफुले प्रयास गर्ने खनालले बताए ।
देशको आर्थिक समृद्धिमासमेत आफुले सक्दो योगदान दिने उनको भनाई छ । विगतमा नेपाल प्रहरीमा रहँदा जनता र समाजको सुरक्षाको लागि दृढ संकल्पका साथ समर्पित रहेजस्तै अब राजनीतिक क्षेत्रबाट समग्र देशको विकास र आर्थिक समृद्धिका लागि अघि बढ्ने उनको भनाई थियो । ‘म निर्वाचित भएर आएपछि देशमा आयात भन्दा निर्यात बढाउने, युवाहरुलाई देशभित्रै स्वरोजगार बनाउन र यहाँका स्थानीय आदिवासी धर्म, कला, संस्कृति, सम्पदाको संरक्षणमा भूमिका खेल्ने मेरो योजना छ’ खनालको भनाई थियो । उद्योगी, व्यवसायीले ढुक्क भई आफ्नो व्यापार, व्यवसाय संचालन गर्न सकिने सुरक्षित वातावरण बनाउन आफु सक्रिय रहने उनको भनाई थियो ।
नेपाल प्रहरीबाट अवकाश पाइसकेपछि आफुले साढे दुई वर्षको अवधिमा स्थानीय समाजमा एक आम नागरिकको रुपमा सामाजिक जीवन बिताउँदा अब देश र राष्ट्रको लागि केही गर्न राजनीति क्षेत्रमा लाग्नुपर्ने महसूस भएको उनले बताए । ‘देश र जनतालाई केन्द्रमा नराखी गरिने स्वार्थको राजनीति देख्दा अब म पनि यसमा प्रवेश गर्छु र परिवर्तनका लागि केही योगदान दिन्छु भनेर आएको छु, आशा छ आम नागरिकले साथ दिनुहुनेछ र परिवर्तनमा हामीले उदाहरणीय भूमिका खेल्नेछौं’ खनालको भनाई हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७