अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताए ।
उनले भने, “अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी हो । यद्यपि केही चुनौती छन् त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या समाधान गर्नुपर्छ ।”
अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकाङ्क राम्रो हुँदै गएको स्पष्ट पारे । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको उनको भनाइ छ । उनले भने, “हाम्रो मिश्रित अर्थतन्त्र भएकाले एकैपटक सङ्कटमा पुग्ने र उचाइमा पुग्ने हुँदैन । जेजति चुनौती छन् त्यसका लागि निजी क्षेत्रको सहकार्य आवश्यक छ ।”
त्यस्तै, सोहि कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताए । उनले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताए । बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उनले यसबाट निजी क्षेत्र सशङ्कित हुनुनपर्ने बताए ।
कार्यक्रममा बोल्दै उनले भने, “समस्या समाधानका लागि हामी खुला छौँ । केही समस्या छन् भने समाधानका लागि हामी खुला छौँ ।” गभर्नर अधिकारीले गत वर्ष ८८ अर्ब शोधनान्तर घाटा रहेकामा यस वर्ष छ अर्ब बचत रहेको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७