नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई हवाई भाडादर घटाउन पत्र पठाएको छ।
प्राधिकरणले मंगलबारबाटै लागू हुने गरी सम्पूर्ण वायुसेवा कम्पनीहरूलाई पत्र पठाएको हो।
नेपाल आयल निगमले आइतबार हवाई इन्धनको साविक मूल्यमा प्रतिलिटर २० रूपैयाँ घटाएको थियो।
घटेको मूल्यअनुसार मंगलबार (भोलि)बाट वायुसेवा कम्पनीहरूले आन्तरिक हवाई भाडादर घटाउन पत्राचार गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
यससँगै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले नेपालमा इन्धन रिफिल गर्दा पर्ने मूल्य पनि प्रतिलिटर ३० रूपैयाँले घटेको छ। हाल प्रतिलिटर १.६४५ डलर (२१८ रूपैयाँ) पर्दै आइरहेकोमा अब भने प्रतिलिटर १.४२ डलर (१८८ रूपैयाँ) पर्ने भएको छ।
आन्तरिक हवाई इन्धनमा २० रूपैयाँले मुल्य घट्दा कम्तीमा १०.०५ प्रतिशतले भाडा घटेको छ। हवाई इन्धनमा मूल्य घटाउनका लागि प्राधिकरणले पहल गर्दै आइरहेको थियो।
नयाँ भाडादरअनुसार सबैभन्दा बढी काठमाडौं–धनगढी रूटमा घटेको छ। यो रूटमा ८ सय ८८ रूपैयाँले भाडा घटेको हो। अब नयाँ भाडादरअनुसार काठमाडौं–धनगढी ७ हजार ५१० रूपैयाँ रहेको छ। यसअघि यो रूटको भाडा ८ हजार ३९५ रूपैयाँ रहेको थियो।
त्यस्तै काठमाडौं माउन्टेन फ्लाइट ६८५ रूपैयाँले घटेको छ। योसँगै उक्त रूटको भाडादर १४ हजार २०५ रूपैयाँ पुगेको छ।
काठमाडौं–भद्रपुर भाडा ६ सय रूपैयाँ, काठमाडौं–विराटनगर ४८५ रूपैयाँ, काठमाडौं–जनकपुर २६० रूपैयाँ, काठमाडौं–भरतपुर २१५ रूपैयाँ, काठमाडौं–पोखरा ३२० रूपैयाँ घटेको छ।
त्यसैगरी, काठमाडौं–भैरहवाको नयाँ भाडादर ८ हजार २६५ रूपैयाँ तोकिएको छ। उक्त रूटको भाडादर हालको भन्दा ४४० रूपैयाँले घटाइएको हो।
काठमाडौं–नेपालगञ्जको भाडादर ६५५ रूपैयाँ, काठमाडौं–तुम्लिङटारको ३७० रूपैयाँ, काठमाडौं–सिमराको १८० रूपैयाँ, काठमाडौं–सिमराको १८० रूपैयाँ, काठमाडौं–सुर्खेत ६९० रूपैयाँ र काठमाडौं–राजविराज रूटको भाडादर ४११ रूपैयाँले घटाइएको छ।
यो सँगै आन्तरिकतर्फ उडान हुने सबै रूटहरूमा भाडा घटेको प्राधिकरणले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७