नेकपा एमालले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकार छाड्ने निर्णय गरेको छ । सोमबार बसेको एमाले सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय सचिवालयमा भएको बैठकको निर्णय सार्वजनिक गर्दै एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेलले एमालेले सरकार छोड्ने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहालले जेनेभा उड्न लागेका परराष्ट्र मन्त्री विमला पौडेल राईलाई रोकेको घटनालाई पनि अहिले नै सरकार छोड्नु पर्ने प्रमुख कारण रहेको उनले बताए । बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले भने, ‘परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण मन्त्रीपरिषद्को निर्णय थियो । तर, हठातरुपमा प्रधानमन्त्रीले त्यसलाई रोक्नु भयो ।’
त्यति मात्र होइन राजीनामा नदिँदा पदच्युत गर्ने वा विना विभागीय मन्त्री बनाएर राख्ने सूचना समेत पाएपछि अहिले नै सरकार छोड्नु उचित ठानेर यस्तो निर्णय गरिएको समेत उनले जानकारी दिए । प्रचण्डले एमालेविरुद्ध सार्वजनिक अभिव्यक्ति समेत दिए पनि सरकारमा बस्नु उचित नभएको उनको भनाई थियो । एमालेको आजको निर्णय संघीय सरकारको हकमा मात्रै भएको उनले बताए ।
गत पुष १० गते प्रधानमन्त्री प्रचण्डसँग भएको सहमति कार्यान्वयन नभएपछि एमालेले सरकार छोड्नु परेको उनले बताए । पौडेलले भने, ‘हामीबिच भएको सहमति प्रचण्ड ज्यूले कार्यान्वयन गर्नु भएन । त्यसबेला राष्ट्रपति एमालेले पाउने भनेर भागबन्डा गरिएको थियो । तर, माओवादीले एमालेलाई सघाउनुको साटो काँग्रेसलाई समर्थन गरेपछि हामीले समर्थन फिर्ता लिएका हौँ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३