सत्ता समिकरण फेरबदल भएपछि आक्रोश पोख्दै आएका एमाले अध्यक्ष केपी ओलीले आठ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको आरोप लगाएका छन् ।
ओलीले आठ दलीय गठबन्धनमाथि गम्भिर आरोप लगाउदै सरकारले जनताको भान्सामा विषादी पठाइरहेको आरोप लगाएका छन् ।
भारतलाई रिझाउन र चीनविरुद्ध सरकार लागिपरेको आरोप लगाएका ओलीले छिमेकी मुलुकमाथि गरेको अस्थिर टिप्पणीले कुटनीतिक सम्बन्धमा भने नयाँ तरङ्ग त पैदा हुँदैन ? प्रश्न गम्भीर बनेको छ ।
एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले राम्रो काम गर्न खोज्दा खोज्दै पनि चौतर्फी हमला हुने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
जनतालाई भ्रममा पार्न दल र नेताहरु चलाएमान भएको आरोप लगाएका ओलीले एमालेमाथिको हमलाले राष्ट्रलाई नै कमजोर पार्ने दाबी गरे ।
एमालेमाथिको प्रहार देशका लागि दुर्भाग्य भएको ओलीको जिकिर छ ।
पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई प्रधानमन्त्री बनाउदै बनेको तत्कालीन सत्ता गठबन्धन भत्कियो ।
विश्वासको मतसम्म आइपुग्दा नै ओलीले सरकार ढाल्न विदेशी शक्ति केन्द्रहरु सक्रिय बनेको भन्दै भारत लक्षित आक्रोश व्यक्त गर्दै आएका थिए ।
एमालेसहितको गठबन्धन भत्किनुमा विदेशीको भूमिका धेरै भएको भन्दै सार्वजनिक रुपमै बोल्दै आएका ओलीले प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका कारण अप्ठ्यारो परेको जानकारी आफूलाई पहिले नै दिएको दाबी गरेको थिए ।
ओलीले एमाले सत्ताबाट बाहिरिनुमा विदेशी शक्तिको भूमिका रहेको औंल्याउदै आएका छन् । ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने गरि तयारी भएको भन्दै आपत्ति जनाए ।
मुस्ताङमा विश्वविद्यालय खोल्नु भनेको चीनविरुद्ध गद्दारी गर्नु नै रहेको उनको दाबी छ ।
यतिमै नरोकिएका उनले सरकारले भारतीय तरकारीलाई परिक्षण गर्न अस्विकार गरेको विषय कोट्याउदै जनताको भान्सामा भारतलाई रिझाउन खेलवाड शुरु गर्न थालिएको आरोप लगाएका छन् ।
सरकारबाट बाहिरिएपछि ओलीले निरन्तर सरकार र आठ दलमाथि प्रहार गर्दै आएका छन् । केहि समयअघि मात्रै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी ऋषी धमला पत्नी एलिजा गौतम आठ दलका शीर्ष नेताको बैठकमा सहभागी भएको विषयलाई कोट्याउदै ’हिरोइन’ गएपछि सरकारले अब केहि गर्छ कि भन्दै व्यङ्ग्य कसेका छन् ।
चौतर्फी विरोध गरेका ओलीले भारत र विदेशी शक्ति रिझाउन प्रचण्डले चीनविरुद्ध गद्दारी गरको आरोप लगाएर छिमेक नीतिलाई नै खलबल्याउने गरि सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
चीनलाई चिढ्याउने गरि सरकारले भारतलाई पोस्न खोजेको उनको अभिव्यक्तिले एमाले र भारतबीचको सम्बन्धमात्रै नभएर सिंगो मुलुकमाथिकै सम्बन्धमा दरार आउन सक्ने बताइएको छ । यद्यपी सरकारले विषादी परिक्षणमा रोक लगाएको नभई यसबारे कानूनको नयाँ ड्राफ्ट हुन लागेको भन्दै वचाउ भने गरिसकेको छ । तर, नेताहरुले दिने यस्ता अभिव्यक्तिले छिमेक नीति खलबलिनेमा सचेत बन्दै कुटनीतिक पहलबाटै समस्या समाधान खोज्नु अहिलेको आवश्यकता रहेको आवाज उठ्न थालेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३