नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न सुझाव दिएका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उनले मुलुकको विषम आर्थिक परिस्थितिमा आगामी बजेटमा समेट्नुपर्ने विषयका बारेमा पार्टीका तर्फबाट सुझाव दिन सांसदहरुलाई आग्रह गरेका हुन् ।
नागरिकका आवश्यकता सम्बोधन हुने गरी आगामी बजेट निर्माण हुनुपर्ने उनको भनाइ थियो । बैठकमा अर्थमन्त्री एवं पार्टीका नेता डा. प्रकाश शरण महतले विषम आर्थिक अवस्थालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट बनाइने जानकारी गराएको राष्ट्रिय सभामा कांग्रेसका प्रमुख सचेतक अनिता देवकोटाले बताए । मन्त्री डा.महतले आगामी बजेटमा राख्नुपर्ने प्राथमिकताका बारेमा सांसदहरुको सुझावका लागि आग्रह गरेका थिए ।
उनले सांसदहरुले राखेका जिज्ञासाका बारेमा टिपोट गरेका र मङ्गलबारको बैठकमा जवाफ दिने बताइएको छ । सांसदहरुले सुझाव दिने क्रम बाँकी रहेकाले कांग्रेस संसदीय दलको बैठक भोलि बिहान १०:३० बजे पुनः बस्ने प्रमुख सचेतक देवकोटाले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७